१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सम्मानजनक व्यवहार गर्न मानव अधिकार आयोगको अपील


0
Shares

human rights commission statement

काठमाडौं, भदौं ८ । कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार नगर्न राष्ट्रिय मानव अधिकार आयोगले सबैमा अपील गरेको छ ।

आयोगले सोमबार विज्ञप्ति निकाली जनस्वास्थ्य संकटको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् भएको जनाएको हो ।

यसप्रकारका दुर्व्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने प्रति सचेत हुन र उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गरी नागरिकको कर्तव्य पालना गर्न आयोगले आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले यस प्रकारका घटनाको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न स्थानीय प्रशासनसँग आग्रह गर्नुभएको छ ।

उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिन पनि आयोगले सरकारलाई अपिल गरेको छ ।

केही दिनअघि चितवनमा कोरोना संक्रमित चितित्सकको घरबाहिर स्थानीयले कोरोना संक्रमितको घर भनी ब्यानर टाँस्न खोजेका थिए भने काठमाडौंमा निजामती कर्मचारी अस्पतालका चिकित्सकहरुमाथि पनि दुर्व्यवहार गरिएको थियो ।

आयोगले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञाको अनुगमन गरिरहेको पनि जनाएको छ ।