
काठमाडौं, असार ४ । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हेपेको भन्दै दुःखेसो गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा आफ्ना धारणा राख्दै देउवाले संसदीय परम्पराअनुसार प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दलको नेता र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताए ।
देउवाले भने ‘जहाँ पनि विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री आउनुपर्छ । तर यहाँ उनले जहिले पनि हेप्ने काम गरेका छन् । नेपालमा पहिलादेखि चल्दै आएको चलनलाई तोड्ने काम गरेको छ ।’
आफु बोल्ने समयमा प्रधानमन्त्री ओली उपस्थित नभएको भन्दै देउवाले आफुलाई हेपेको बताएका हुन् ।
संसारभरि सदन विपक्षीको हुन्छ, यहाँ उल्टो भएको भन्दै मंगलवारको वैठकमा आफुलाई बोल्न नदिएर प्रधानमन्त्रीलाई पहिले बोल्न दिनु ठीक नभएको उनले बताए ।
प्रधानमन्त्रीभन्दा पहिला देउवा बोल्न पाउनु पर्छ भन्दै कांग्रेसले मंगलबार प्रतिनिधि सभा बैठक अवरूद्ध गर्दै रोष्ट्रममा पुगेका प्रधानमन्त्री ओलीलाई पनि बोल्न दिएको थिएन ।
विगतमा ४८ दिनसम्म संसद अवरोध भएको स्मरण गर्दै उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बोल्न नदिएर रोष्ट्रमबाट लडेको पनि उल्लेख गरे ।
प्रजातन्त्र मास्न खोजेको आरोप
देउवाले सरकार एकपछि अर्को विधेयकमार्फत प्रजातन्त्रलाई समाप्त पार्न उद्यत रहेको आरोप पनि लगाए ।
सरकारले पछिल्लो समय ल्याएको विधेयकले लोकतन्त्रका मूल्य मान्यतामाथि आक्रमण गरेकाले कुनै हालतमा पारित हुन नदिने चेतावनी उनले दिए ।
देउवाले मिडिया काउन्सिल, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी र राष्ट्रिय मानव अधिकार आयोग सम्बन्धी विधेयकलाई कांग्रेसले जुनसुकै मूल्य चुकाएर भएपनि पारित हुन नदिने घोषणा पनि गरे ।
प्रतिक्रिया दिनुहोस्