
काठमाडौं, भदौं ९ । कुवेतबाट नेपाल फर्कन टिकट काटेर पनि आउन नपाएका नेपाली नागरिकले आगामी २८ तारिखमा नेपाल आउन पाउने नेपाल वायु सेवा निगमले जनाएको छ ।
उडान तालिका प्रकाशन भई टिकट बिक्री भइसकेपछि सरकारले पाँचौ चरणको उद्धार उडान रद्ध गर्दा उनीहरु अलपत्र परेका थिए ।
सरकारले उडान रद्द गर्दा २३ अगष्टमा कुवेत जानुपर्ने नेपाल एयरलाइन्सको जहाज गएको थिएन । उक्त उडान अब २८ अगष्टमा हुने निगमले जनाएको छ ।
निगमले सरकारले तोके बमोजिमको होटल बुकिङ तथा आफूसँग भएको टिकट रिभ्यालिड गर्न निगमको केन्द्रीय कार्यालयमा भोलिसम्म सम्पर्क गर्न पनि भनेको छ ।
यात्रुले नेपालमा रहेका आफ्ना प्रतिनिधिमार्फत निगम कार्यालयमा सम्पर्क गरी सो टिकटलाई पुनः निश्चित गर्न सक्ने निगमले प्रष्ट गरेको छ ।
यसरी सम्पर्कमा आएका यात्रुलाई कुवेत–काठमाडौंको २८ अगष्टको उडानमा समावेश गरिने कम्पनीले जनाएको हो ।
सम्पर्कमा नआएका यात्रुको भने टिकट वापतको पूरै रकम फिर्ता दिइने पनि निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्