३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


सत्तारुढ दलको सांसदले नै मागे मन्त्रीकै राजिनामाः निशानामा राष्ट्रपतिसम्म


0
Shares

काठमाडौं, असार ४ । सरकारले ल्याएको बजेटप्रति सत्तारुढ दलका सांसदहरु नै क्रूद्ध देखिएका छन् । बजेट विनियोजनामा पक्षपात गरिएपछि आक्रोशित बनेका उनीहरुले मन्त्रीको राजिनामा समेत मागेका छन् ।

बजेट जति प्रधानमन्त्री र मन्त्रीहरुले आ–आफ्नो क्षेत्रका योजनामा मात्र पारेपछि उनीहरु संसद बैठकमा आक्रोशित बनेका हुन् । उनीहरुले रातो किताबसमेत फिर्ता गरे । 

नेकपा सांसद लालबहादुर थापा, राजेन्द्रप्रसाद गौतम र सुदन किराँतीले विरोधमा सभामुखमार्फत रातो किताब मन्त्रीलाई नै फिर्ता समेत गरे ।

बाजुराबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद लालबहादुर थापाले बजेटप्रति असन्तुष्टि जनाउँदै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठको राजीनामा मागे ।

उनले पूर्वाग्रही भएको, धेरै बजेट आफ्नो जिल्लामै मात्रै विनियोजन गरेको, समानुपातिक विकासको सिद्धान्तको खिल्ली उडाएको र पदीय जिम्मेवारी भुलेर राज्यको वित्तीय स्रोत दुरुपयोग गरको भन्दै महासेठलाई कारबाहीस्वरुप पदमुक्त गर्न माग गरेका हुन् ।

आफ्ना जिल्लामा विकास निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्दा जनप्रतिनिधिसँग हुकुमी शैलीमा प्रस्तुत हुने गरेको आरोपसमेत थापाको छ ।

‘मन्त्रीलाई हेर्नै नहुने भयो । जनताका माग राख्न जाँदा हप्की खानुपर्ने अवस्था छ ।’ उनले थपे, ‘त्यस विषयमा कुरा उठाउँदा पूर्वाग्रही भएर बजेट शून्य बनाइएको छ ।’

आफ्नो जिल्लाका लागि बजेट नै विनियोजन नगरेको भन्दै उनले विनियोजन विधेयक बहिष्कार गरे र भने, ‘यो किताब लिन सक्दिनँ । आफ्नो जिल्लामा योजना नभएको किताब बाजुराली जनतामाझ कसरी लैजानु ?’

मन्त्री महासेठको धनुषा जिल्लामा मात्रै ७९ आयोजना रहेको दावी उनको छ । हिमाली २० जिल्लालाई योजनाशून्य बनाएको आरोप पनि थापाले लगाए ।

उता, भोजपुरका सांसद सुदन किराँतीले बजेटअघि योजना पारिदिन मन्त्रालय चहार्दा जुत्ता फाटेको तर जिल्लाका आयोजनामा बजेट विनियोजन नगर्दा मन फाटेको बताए ।

उनले योजना नभएको किताब बोक्नुको कुनै अर्थ नरहने भन्दै आफु पनि रातो किताब फिर्ता गर्छु भने । भोजपुरलाई विकास योजनाबाट हटाएपनि पनि नेपालको मानचित्रबाट हटाउन नसक्ने चेतावनी उनको थियो ।

बजेट नेतामुखी भएको भन्दै उनले राष्ट्रपति विद्या भण्डारीको एउटै टोलको बाटोका लागि ६ ठाउँमा बजेट छुट्टाइएको दृष्टान्त पेश गरे ।

एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकको नारा भएपनि मन्त्रीले आफ्नो क्षेत्रमा १७ वटा योजना पारेको भन्दै उनको स्तर, योग्यता र अवस्थामाथि प्रश्न उठेको किराँतीले उल्लेख गरे ।

संखुवासभाका सांसद राजेन्द्रप्रसाद गौतमले मन्त्री महासेठको जिल्ला धनुषामा १७ वटा पर्दा आफ्नोमा एउटा पनि नपरेकोमा आपत्ति जनाए ।

‘हामीले पटक–पटक अनुरोध गरेका थियौं,(जिल्लामा एउटा रणनीतिक सडक पार्नुहोस्। तर, महान् मन्त्री हुनुहुन्छ । अवस्था यस्तो आयो।’ गौतमले रोष प्रकट गरे । बजेट पुनर्मूल्यांकन गर्न उनको माग छ ।