
दैलेख, भदौ १० । दैलेखमामा जारी निषेधाज्ञा दुई दिन थप भएको छ ।
यही भदौ १२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
यसअधि यही भदौ ७ गतेदेखि आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि सहज परिस्थिति नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय थप गरेको हो ।
सङ्क्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दा भेटिएका अन्य व्यक्तिको स्वाब सङ्कलन र परीक्षणमा असहज परिस्थित भएकोले निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।
यसअघि जारी गरिएको निषेधाज्ञाभन्दा केही सहज बनाइएको बताउँदै उहाँले तरकारी पसल र अत्यावश्यक खाद्यान्न पसलहरू बिहान २ घण्टा र साँझ २ घण्टा खुल्ला गर्ने गरी केही खुकुलो बनाइएको छ ।
उहाँका अनुसार बिहान ६ देखि ८ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म पसल खुल्ला हुने छन् ।
यस्तै औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, खानेपानी, विद्युत्, फोहोर–मैला व्यवस्थापनलगायत अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि सेवा सञ्चालन गर्न निषेध गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्