२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


डा. केसीको अनशन एक हप्ता स्थगित


0
Shares

Dr Gobinda kc hungerstrike government kp oli health education

काठमाडौं, भदौं ११ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ताका लागि पछि सार्नुभएको छ ।

हाल जुम्लामा रहनु भएका डा. केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ता पछि सारेको जानकारी दिनुभएको हो ।

केसीले विज्ञप्ति निकाली स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रहलाई एक साता पछि सार्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

गत साउन ११ गते नै आफ्नो ४ बुँदे माग सार्वजनिक गर्दै केसीले ती माग पूरा नभए भदौ ११ गतेदेखि सत्याग्रह थाल्ने घोषणा गर्नुभएको थियो ।

विज्ञप्तिमा केसीले लेख्नुभएको छ, ‘हामीले झन्डै एक महिनाको समय दिंदा पनि सरकारले माग पूरा गर्न कुनै कदम चालेको छैन । हामीसित गरेका सम्झौता कार्यान्वयन गर्न तथा जायज माग पूरा गर्न सरकारले कोरोना महामारीको वहाना बनाइरहेको छ जबकि अरबौं भ्रष्टाचार र घोटाला गर्न तथा सत्तारुढ दलका नेताहरुबीच कुर्सीका लागि हानथाप गर्न महामारीले छेकेको छैन ।’

केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएस लगायतका कार्यक्रम संचालन गर्न, प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न र गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरू गर्न माग गर्नुभएको छ ।

त्यस्तै प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि माग गर्नुभएको छ ।

२०७५ साउन १० गते आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न, चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्न पनि केसीको माग छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न र बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चिित गर्न पनि माग गर्नुभएको छ ।