३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


संसदमा गर्जिए गच्छेदार, मागे प्रधानमन्त्रीको राजिनामा


0
Shares

काठमाडौं, असार ५ । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय गच्छेदारले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेका छन् । प्रतिनिधिसभा बैठकमा आफ्ना धारणा राख्दै सरकार स्वेच्छाचारी बन्दै गएको आरोप पनि लगाए ।

उनले सरकारले संविधानको उल्लंघन गर्दै एकपछि अर्को विधेयकहरु ल्याएकाले प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने अधिकार नभएको बताए । त्यसै मध्येको एक गुठी विधेयकले नेपाली जनताको धर्म र आस्थामाथि प्रहार गरेको आरोप उनले लगाए ।

दुई तिहाईको शक्तिशाली सरकारका प्रधानमन्त्रीले आफैले ल्याएको विधेयक फिर्ता लिनुपर्ने अवस्था भैसकेपछि कुन नैतिकताले पदमा बस्ने भन्ने प्रश्न गर्दै उनले, ‘प्रधानमन्त्रीले पदबाट राजिनामा दिनुपर्छ’ भने ।

संविधान विपरित ऐन कानुन ल्याउने अधिकार प्रधानमन्त्रीलाई कस्ले दियो ? उनले प्रश्न गरे ।

सरकारले बलजफ्ती गरेर ल्याएका सबै विधेयक फिर्ता लिन माग गर्दै नेता गच्छेदारले परिवर्तनमा साथ दिने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई अफ्ठ्यारोमा पार्ने गरी मिडिया काउन्सिल विधेयक ल्याइएकाले तत्काल फिर्ता लिन माग गरे ।

‘प्रेस र अभिव्यक्तिको हनन गर्ने, धर्म संस्कृतिमा प्रहार गर्ने विधेयक किन ल्याइयो ? जुन पत्रकारले प्रजातन्त्र ल्याउन ठूलो योगदान गरेका छन् तिनै पत्रकारलाई थुन्ने, मुद्दा लगाउने गरी विधेयकहरु किन ल्याइयो यसको नियत के हो ? उनले प्रश्न गर्दै जवाफ मागे ।’

नेता गच्छेदारले भने, ‘प्रेस माथि नियन्त्रण गर्ने ? यो त पञ्चायतकाल वा राजाको शासनकालमा हुने गर्दथ्यो । तर राजाको प्रत्यक्ष शासनमा पनि प्रजातन्त्रका पक्षमा पत्रकारले कलम चलाइरहे, हामीलाई साथ दिए । २०६२/०६३ मा त आफै जेल बसेर गणतन्त्र ल्याउन, राजतन्त्र अन्त्य गरी संघीय गणतन्त्र ल्याउन भूमिका खेले अब तिनैलाई आतंकित पार्ने ? यो सहिन्न । यसविरुद्ध लडिन्छ । संघर्ष गरिन्छ ।’ 

प्रधानमन्त्री ओलीले स्वायत्त रहनुपर्ने राज्यका अंगहरुलाई एकपछि अर्को गर्दै आफु मातहतमा ल्याएको भन्दै गच्छेदारले कति अधिकार चाहिएको हो ? कति भए पुग्ने हो ? भन्ने प्रश्न गरे ।

कुत्सित नियतका साथ अधिकार हत्याउनुको कारण अधिनायकवाद लाद्न खोजेको आरोप पनि उनले लगाए ।

केही मधेशी दलहरुले अस्वीकार गर्दागर्दै जारी गरिएको संविधान संशोधनका लागि दिइएको बचन पूरा नगरेका भन्दै उनले आपत्ति पनि जनाए ।