१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दिबास नगरपालिकाले आफैँ कोरोना परीक्षण गर्दै


0
Shares

जलेश्वर, भदौ १२ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाले शुक्रबारदेखि आफैँ कोरोना (कोभिड–१९) को परीक्षण शुरु गरेको छ ।

आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरडीटी पीसीआर मेशिन गरिद गरी नगरपालिकाले अब आफैँले कोभिड–१९ को परीक्षण शुरु गरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।

नगर क्षेत्रभित्र पनि कोरोना समुदायस्तरमै फैलिएको भन्दै उहाँले सङ्क्रमणलाई नियन्त्रणमा लिन सबभन्दा पहिले सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गर्दै तिनको परीक्षणलाई प्राथमिकता दिएको बताउनुभयो ।

“बर्दिबासबासी यसअघि स्थानीयस्तरमा कोरोना परीक्षणको व्यवस्था नहुँदा प्रादेशिक अस्पताल जनकपुरको भर परेका थिए”, नगरप्रमुख कार्कीले भन्नुभयो, “तर अब बर्दिबासको सङ्कलित स्वाब परीक्षण गर्न बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।”

पहिलापहिला कोरोना परीक्षणको रिपोर्ट आउन १५ दिन लाग्ने गरेको तर अब आफ्नै मेशिन भएपछि आजको भोलि नै रिपोर्ट आउने र दैनिक ८०० को स्वाब परीक्षण गर्न मिल्ने भएको उहाँले बताउनुभयो ।

बर्दिबास नगरपालिका गत जेठ ५ गते नै आफैँ कोरोना मेशिन खरिद गर्ने निर्णय गरेअनुरुप मेशिन खरिद गरेर आजदेखि आफ्ना क्षेत्रका जनताको सेवामा जुटेको छ । रासस