
काठमाडौं, भदौ १२ । गोकर्णेश्वर नगरपालिकामा रहेको एकमात्र नगर प्राथमिक अस्पताल तीन दिनदेखि बन्द हुँदा सामान्य बिरामी पर्दा समेत उपचार पाउन नसकिएको स्थानीयवासीको गुनासो छ ।
अस्पतालमा कार्यरत एक जना चिकित्सकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि भदौ १० गतेदेखि अस्पताल बन्द छ ।
नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिक खुला भएपनि स्वास्थ्यकर्मीले राम्रोसँग नहेरेको बिरामीको भनाई छ ।
नगरपालिकामा एक प्राथमिक अस्पताल, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य क्लिनिक छ ।
सामुदायिक स्तरबाट नेपाल अर्थोपेडिक अस्पताल, निजी क्षेत्रबाट नेपाल मेडिकल कलेज प्रालि, शंकरापुर अस्पताल र खाँग्री इन्टरनेशलन हस्पिटल छन् ।
बिहीबार दिउँसो बच्चा बिरामी भएर नयाँपाटी स्वास्थ्य चौकी लिएर जाँदा स्थास्थ्यकर्मीले बाहिरबाटै औषधी दिएको स्थानीय चन्द्रबहादुर तामाङले दुःखेसो पोख्नुभयो ।
स्वास्थ्यकर्मीले स्वास्थ्य चौकीभित्र छिर्न नदिई बाहिरबाटै औषधी दिएका थिए । के भएको भन्ने सोधेर औषधी दिए पनि बिरामीलाई स्वास्थ्यकर्मीले पुर्जी समेत नदिएको उहाँले बताउनुभयो ।
गोकर्णको प्राथमिक अस्पताल खुलेको भए धेरैले त्यहाँबाट उपचार पाउँथे ।
अस्पतालमा पिसाब, रगत लगायत परीक्षण पनि हुने भएकाले तुलनात्मक रुपमा बिरामीले धेरै सुविधा पाउँथे ।
मौसम परिवर्तनका कारण हुने रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्ने लगायतका बिरामी बढ्ने समयमा यातायात नचल्ने, अस्पताल बन्द हुने गर्दा स्रोत साधन विहीन एवं विपन्न वर्ग मर्कामा पर्ने गरेका छन् ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्याय गोकर्ण प्राथमिक अस्पताल आजसम्मका लागि बन्द गरिएकाले आइतबारदेखि सेवा सञ्चालनमा आउने बताउनुहुन्छ ।
वि.स.२०७५ मा गरिएको नगर क्षेत्रको जनसाङ्ख्यिक सर्वेक्षण अनुसार गोकर्णेश्वरमा एक लाख पाँच हजार मानिस बसोवास गर्छन् ।
स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले पुर्जी समेत नदिएको विषयमा थप बुझ्ने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकामा हालसम्म ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
एक जना सङ्क्रमितको निधन भइसकेको छ भने ३१ जना ठीक भएर घर फर्किएका छन् ।
राजधानीका विभिन्न अस्पतालमा १६ जना नगरपालिकाका सङ्क्रमितको उपचार भइरहेको छ ।
आइसियुमा उपचार गरेका नगरपालिकाका एक सङ्क्रमितसमेत पछिल्लो समय ठीक भएर घर फर्किएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले सुनाउनुभयो ।
नगरपालिकाका सङ्क्रमितमध्ये ५१ जना घरमै एकान्तवास (आइसोलेसन) मा बसेका छन् ।
नगरपालिकाको वडा नं ४ स्थित ऐतिहासिक देशे गाउँका एक जना घरमै एकान्तवासमा बसेका सङ्क्रमित घर बाहिर निस्केर टोलवासीलाई समेत चिन्तित बनाएको भन्दै स्थानीयवासीले सामाजिक सञ्जालमा समेत आक्रोश पोखेका छन् ।
वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ यस विषयमा आफूलाई कसैले जानकारी नगराएको बताउनुहुन्छ ।
लक्षण नदेखिएका सङ्क्रमितलाई अस्पतालमा नराख्ने स्वास्थ्य मन्त्रालयको नीति भएकाले धेरै जना घरमै एकान्तवासमा रहेको नगरपालिकाले जनाएको छ ।
स्वाब परीक्षण गर्दा नगरपालिकामा ९९ जनाको पोजेटिभ प्रतिवेदन आएपनि तीन जनामामात्र लक्षण देखिएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।
घरमै एकान्तवासमा बसेका सङ्क्रमितलाई गाह्रो भएमा हटलाइन नं. ११३३ मा सम्पर्क गरी अस्पताल जाने व्यवस्था गरिने गरेको जनाइएको छ ।
सङ्क्रमितलाई तत्काल अस्पताल जान एम्बुलेन्स बोलाउनुपरेमा हटलाइन १०२ मा सम्पर्क गरेर बोलाउन सकिने जनाइएको छ ।
सङ्क्रमितले नगरपालिकामा सम्पर्क गरेर पनि केही नगर्न भनी मन्त्रालयले निर्देशन दिएकाले सिधै उल्लेखित नम्बरमा सम्पर्क गर्न आह्वान गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्