
सुरेन्द्र भण्डारी (ईमेज)
झापा, भदौ १४ । विश्वमा नै लोप हुन अवस्थामा पुगेको कछुवाको झापामा संरक्षण गरिंदै आएको छ ।
जिल्लाको अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति प्रतिष्ठानले विगत आठ वर्षदेखि कछुवा संरक्षण गर्दै आएको हो ।
उभयचर तथा सरिसृप संरक्षण समाज नेपाल (आर्काे) को सहकार्यमा सुखानी सहिद स्मृति प्रतिष्ठानले सन् २०१२ बाट विश्वमा लोपोन्मुख अवस्थामा पुगेका विभिन्न आठ प्रजातिका कछुवा संरक्षण गरेर राखेको छ ।
प्रतिष्ठानले सञ्चालन गरेको ‘कछुवा उद्धार तथा संरक्षण केन्द्र’ मा अहिले ४० भन्दा बढी कछुवालाई संरक्षण गरेर राखिएको छ ।
समुदायमा आधारित भएर सञ्चालनमा ल्याइएको कछुवा संरक्षण केन्द्र सुखानी सहिद स्मृति प्रतिष्ठानको तीन विगाह क्षेत्रफलमा फैलिएको छ ।
यहाँ विश्वमै दुर्लभ मानिएका कछुवासमेत संरक्षण गरेर राखिएको टीआरसीसी टटल्स क्लवका कार्यक्रम निर्देशक सविन अधिकारीले बताउनुभयो ।
कछुवा उद्धार तथा संरक्षण केन्द्रमा संरक्षण गरेर राखिएका कछुवामध्ये झापाको टाङटिङ, बिरिङ खोलामा मात्र पाइने लोपोन्मुख ध्वाँसे–कडे–पाते कछुवासहित ८ प्रजातिका कछुवा छन् ।
कछुवा संरक्षणका लागि प्रतिष्ठानले साना ठूला पोखरी, खुला ठाउँ, सुरक्षित घेराबारा, बोटबिरुवा रोपेको छ ।
जसमा झापाका विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका कछुवा छाडिएको छ ।
कछुवा संरक्षण तथा प्रजनन केन्द्र सञ्चालनमा आएदेखि जिल्लाको मेची बहुमुखी क्याम्पस, विराटनगर, चितवन, काठमाडौं, धनगढीलगायतका स्थानबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।
अहिलेपनि दुई जना विद्यार्थीले कछुवाकै विषयमा शोधपत्र पनि तयार पारिरहेका छन् ।
जिल्लामै पहिलो पटक सञ्चालनमा आएको कछुवा संरक्षण केन्द्रमा राखिएका कछुवाको प्रजननसमेत भएको छ ।
लकडाउनको समयमा मानिसको आवागमन कम भएका कारण कछुवाको प्रजननमा सहयोग पुगेको बताइन्छ ।
अहिले यहाँ राखिएका कछुवाका चारवटा बच्चा जन्मिएका छन् । जसलाई प्रतिष्ठानका पदाधिकारीले प्रत्यक्ष निगरानी गरेर हेरचाह गरिरहेका छन् ।
उभयचर प्राणीमा पर्ने कछुवा विश्वमै मेरुदण्डीय जीवहरुमध्ये अति संकटापन्न अवस्थामा छ ।
यस्तो अवस्थामा केन्द्रले नेपालमा पाइने मात्र नभइ विश्वमा पाइने कछुवाको पनि संरक्षण गरेको छ ।
प्रकृतिको पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी मानिन्छ ।
पर्यावरण सन्तुलन राख्नसमेत कछुवाको महत्वपूर्ण भूमिका रहने भन्दै अर्जुनधारा नगरपालिकाले कछुवा संरक्षित नगर घोषणाको तयारी गरेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्