
काठमाडौं, भदौ १४ । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले कोरोना संक्रमण देखिएका कारागारका सम्पूर्ण कैदीबन्दी र व्यक्तिको पीसीआर परीक्षण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले आइतबार गरेको भर्चुअल बैठकले पछिल्लो समय कारागारमा संक्रमण बढ्दै गएकोप्रति ध्यानाकर्षण गराउँदै संक्रमण देखिएका सम्पूर्ण कैदीबन्दीको पिसिआर परीक्षण गर्न निर्देशन दिएको हो ।
समितिले कारागारभित्र रहेका व्यक्ति बाहिर जाने अवस्था नभएकाले गम्भिर मानवीय संवेदनासंग जोडिएको विषयमा सचेत रहन पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले स्वास्थ्य स्थिति हेरेर कैदी बन्दीहरुलाई प्यारोलमा राख्न, खुल्ला कारागारमा राख्न तथा जोखिम न्यूनीकरणका लागि अलग–अलग राख्न सुझाव दिएको छ ।
यस्तै, फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीमा आधारभूत स्वास्थ्य सामग्रीको अभाव रहेको गुनासो रहेको भन्दै तत्काल सम्बोधन गर्न पनि निर्देशन दिएको छ ।
भर्चुअल बैठकमा सहभागि गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय कारागारमा रहेका कैदीबन्दी र सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्न थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले कैदी बन्दी र सुरक्षाकर्मीहरुमा बढ्दै गएको संक्रमणले चिन्ता बढाएपनि नियन्त्रणका लागि सरकारले आवश्यक काम गरिरहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्