
काठमाडौं, भदौ १४ । होम डेलिभरी सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ ।
विना सावधानी उक्त सेवा दिँदा घरघरमा कोरोना (कोभिड–१९) को सङ्क्रमण हुनसक्ने जनाउँदै स्थानीय प्रशासनले उक्त सेवा रोकेपछि आइतबार काठमाडौंमा भएको बैठकले मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा गठन गरिएको उक्त समितिमा बाणिज्य विभाग, स्वास्थ्य कार्यालय र प्रहरी अधिकृत प्रतिनिधि रहेको समिति गठन गरेको काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
प्रहरीले बिहिबारदेखि डेलिभरी सेवा रोकेपछि नेपाल इ–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो । समितिले ई–कमर्स कम्पनीसँग समेत सुझाव लिएर निर्णय गर्ने समितिका संयोजक भट्टले जानकारी दिनुभयो ।
डेलिभरी सेवा प्रदायक कम्पनीको साझा फोरमका संयोजक सागरदेव भट्टले होम डेलिभरी सेवाका कारण मानिस जोखिम मोलेर घरबाट बाहिर निस्किनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो ।
निषेधाज्ञाको अवधिमा अनलाइन डेलिभरी सेवा दिन नपाइने भन्दै यस्तो सेवामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो ।
यो कदमको सर्वत्र आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्