
काठमाडौं, भदौं १४ । नेपाल मेडिकल एशोसिएसनले विभिन्न संघ संस्थाको समन्वयमा विभिन्न अस्पतालमा अग्रपंक्तिमा रही आपतकालीन सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई सवारी साधनको व्यवस्था गरेको छ ।
सार्वजनिक सवारी साधन नहुँदा सेवा प्रवाहमा अवरोध नहोस भनेर एशोसिएसनले नेपाल नेशनल हस्पिटल, नेपाल स्काउट, उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ (हिसान), रोटरी क्लब अफ् काठमाडौं, हेल्थ प्रोफेसनललगायतका संस्थाको समन्वयमा तीन वटा सवारी साधन सञ्चालनमा ल्याइएको हो ।
चक्रपथभित्र दुई र चक्रपथ बाहिर एउटा बसले सेवा दिने बताइएको छ । कोराना संक्रमणको महामारी बढ्दै गएकाले प्रशासनले निषेधाज्ञा गर्दा सार्वजनिक सावरी साधन नचलेको अवस्थामा आपतकालीन अवस्थामा सेवा दिने स्वास्थ्यकर्मीको आवागमनमा सहज बनाएको एशोसिएसनले जनाएको छ ।
सुरुमा प्रत्येक दिन तीन वटा बसले सेवा दिएपनि स्वास्थ्यकर्मीको माग र आवश्यकतालाई हेरेर सेवा र समय बढाउँदै लैजाने नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीहरुको सिफ्टअनुसार दुई समयमा गाडी सञ्चालन हुनेछ । अत्यावश्यक सेवाका लागि एउटा गाडी २४ घण्टा नै सञ्चालन गर्ने तयारी पनि गरिएको छ । बस विहान ६.३० बजेदेखि ८.३० बजेसम्म र साँझ ५.३० बजेदेखि ७.३० बजेसम्म चल्नेछ।
बाँसबारीबाट सुरु हुने बस त्रिभुवन शिक्षण अस्पताल (टिचिङ), कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म, अर्को बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्नेछ ।
बसबारे समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्