
एजेन्सी, भदौं १५ । चीनले स्वशासित प्रदेश तिब्बतलाई एक ‘नयाँ आधुनिक समाजवादी तिब्बत’ का रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
चिनियाँ राष्ट्रपति शी चिनफिङले एक ‘नयाँ आधुनिक समाजवादी तिब्बत’ निर्माणका लागि आह्वान गर्नुभएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चीनको केन्द्रीय सैन्य कमिशनका अध्यक्ष चिनफिङले बेइजिङमा तिब्बतका बारेमा गरिएको एक उच्चस्तरीय बैठकमा यस्तो टिप्पणी गर्नुभएको हो ।
तिब्बतमा स्थिरता बनाइ राख्न एवं राष्ट्रिय एकताको रक्षा गर्नका लागि चीनले अझै बढी कोशिश गर्नुपर्नेमा उहाँको जोड थियो ।
राष्ट्रपतिबाट तिब्बतलाई समाजवादी मोडलमा लैजाने यो घोषणा गर्नुपूर्व विदेश मन्त्री वांग यीले तिब्बत भ्रमण गरी तिब्बतको सीमावर्ती क्षेत्रमा भइरहेको निर्माण कार्यको अनुगमन गर्नुभएको थियो ।
तिब्बतका आध्यात्मिक नेता दलाई लामाका पक्षधरहरुले भने चीनको यस निर्णयप्रति आपत्ति जनाउँदै ‘चीनले तिब्बतका जनता र त्यहाँको संस्कृति नष्ट गर्ने’ अभियानलाई अझै तिब्रता दिन खोजेको आरोप लगाएका छन् ।

तिब्बतमा भविष्यको शासनबारे कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरुसँगको उक्त बैठकमा त्यहाँ भइरहेको उपलब्धिको प्रशंसा गर्दै चिनफिङले त्यस क्षेत्रमा अझै एकता बढाउने, त्यसलाई जिवन्त र सुदृढ गर्ने प्रयासको आवश्यकतामा जोड दिनुभएको बताइएको छ ।
चिनियाँ सरकारी समाचार संस्था सिह्न्वाका अनुसार शी चिनफिङले बैठकमा भन्नुभयो, ‘तिब्बतका स्कूलमा राजनीतिक र वैचारिक शिक्षामा जोड दिन जरुरी रहेको छ, जसले त्यहाँका प्रत्येक युवामा मनमा चीनप्रति प्रेमको भाव बिजारोपण गर्न सकियोस् ।’
तिब्बतमा कम्युनिस्ट पार्टीको भूमिका बलियो बनाउने तथा जातीय समूहलाई कुशलतापूर्वक एकीकृत गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनु भएको थियो ।
राष्ट्रपति चिनफिङले भन्नुभयो, ‘एकजुट, समृद्ध, सभ्य, सामञ्जस्यपूर्ण एवं सुन्दर, आधुनिक, समाजवादी तिब्बत बनाउने संकल्प लिनु पर्दछ ।’
उहाँले भन्नुभयो, ‘तिब्बती बौद्ध धर्मलाई पनि समाजवाद र चीनको परिस्थिति अनुकूल बनाउनुपर्ने आवश्यकता छ ।’
इतिहासको विभिन्न कालखण्डमा आफ्नो सार्वभौम पहिचान कायम गरेको तिब्बत कतिपय सन्दर्भमा चीन, मंगोल, नेपाल, बृटेनसम्मको कुनै न कुनै प्रभावमा परेको थियो ।
तर, सन् १९५० मा चीनले आफ्नो नियन्त्रणमा लिएपछि १४ औं दलाई लामा भारत निर्वासनमा रहेका छन् । (बीबीसीबाट)
प्रतिक्रिया दिनुहोस्