२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


देशभर युरिया मलको हाहाकार, मल लिन लाइन बसेका किसानमाथि प्रहरी हस्तक्षेप


0
Shares

urea scarcity government unable to supply

चितवन, भदौ १७ । सरकारले मल उपलब्ध गराउन नसक्दा देशभर रासायनिक मलको हाहाकार भएको छ ।

धानलगायतका बालीमा मल हाल्नुपर्ने समयमा सरकारले मल उपलब्ध नगराउँदा कृषक चिन्तित भइरहेका छन् । खासगरी धानलगायतका बालीलाई चाहिने युरिया मलको देशभर हाहाकार भएको छ ।

देशका अरु भागमा झै चितवनमा पनि मलको संकटका कारण कृषकमा छटपटी बढेको छ । मल पाइने आशामा स्थानीय सहकारी संस्थाहरुमा सयौंको संखामा मानिस लाइन बसे पनि पाउन नसक्दा दुःखित बन्नेहरु छन् ।

बिहान सबेरैदेखि घण्टौं लाइनमा बसेका सयौं किसान रित्तो हात फर्कन बाध्य भएका छन् ।

जिल्लामा करिब २ सय टन अनुदानको मल कृषि ज्ञान केन्द्रको सिफारिसमा एक सय वटा सहकारी संस्थालाई वितरण गरिए पनि मल लिन बस्नेहरुको ठूलो लाइन हुँदा सबैले मल नपाएका हुन् ।

कतिपय सहकारीले दश/दश किलोका दरले दामासाहीमा बाँडेका थिए । सहकारीहरुमा हजारौं किसान आवद्ध भएपनि मल उपलब्ध गराउन नसकेको सहकारीहरुले जनाएका छन् ।

मल लिन लाइन बसेका तर नपाएका कृषकलाई प्रहरीले बल नै प्रयोग गरेर तितरबितर पारेको थियो । स्थानीय प्रशासनले कोरोना संक्रमणको त्रासमा निषेधाज्ञा लगाए पनि हजारौंको संख्या मानिस लाइनमा पुगेका थिए ।

प्रशासनले मल माग्ने किसानलाई प्रहरी लगाएर लखेटेकामा किसानहरुले दुःखेसो गरेका छन् ।