
काठमाडौं, भदौं १७ । काठमाडौं उपत्यकामा दुई सातादेखि जारी निषेधाज्ञा तेस्रो पटक थप एक साताका लागि लम्ब्याउने निर्णय गरिएको छ ।
गृह मन्त्रालयसँग छलफल गरेपछि काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यो निर्णयसँगै अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ ।
भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिने भएपछि अरु एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार यसपालि अत्यावश्यक वस्तु तथा सेवालाई खुकुलो पारिएको छ।
जसअनुसार यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई अब बिहान ११ बजेसम्म खोल्न दिइने छ।
यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिइने छ । निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय गरिएको छ ।
यसैगरी, अनलाइन कक्षा सञ्चालनका लागि अनुमति दिइएको छ। तर, यी सबैमा सामाजिक दूरी र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने छ।
स्वाब दिनेहरूलाई घरमै निगरानीमा राखिने पनि दाहालले जानकारी दिनुभयो ।
यसपटक केही सेवा सञ्चालनका लागि छुट दिइएको छ । निषेधाज्ञाका समयमा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिने जनाइएको छ ।
भन्सार तिरेका गाडी र मोटरसाईकल पनि काठमाडौं उपत्यकामा ल्याउन दिइने छ । स्वास्थ्य मापदण्ड पूरा गरेर कारखानाभित्रै मजदुर राख्नेगरी उद्योगधन्दा चलाउन दिने निर्णय पनि गरिएको छ ।
थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाइने निर्णय पनि स्थानीय प्रशासनको छ ।
होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्