२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


फागुनमै महाधिवेशन गर्न रामचन्द्र पौडेलले सारे विकल्प, पुरानै क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिलाई मान्यता दिन सकिने


0
Shares

ramchandra poudel

काठमाडौं, भदौ १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना महामारीकै बीचमा पनि १४ औं महाधिवेशन गर्न सकिने जिकिर गर्नुभएको छ ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बुधबार गरेको गण्डकी प्रदेशस्तरीय भर्चुअल अन्तक्रियामा उहाँले त्यसका लागि तीन विकल्प अगाडि सार्नुभएको छ ।

उहाँले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न नसकिएमा पुरानै क्रियाशील सदस्यताबाट नयाँ अधिवेशन गर्न सकिने उल्लेख गर्नुभएको छ ।

२०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा रहेका चार लाख ८० हजार क्रियाशील सदस्य मध्येबाटै वडादेखि केन्द्रसम्म महाधिवेशन गराउन सकिने पौडेलको भनाइ छ ।

आगामी फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका निकालेको कांग्रेसले साउन मसान्तभित्र ७७ जिल्लामै नयाँ सदस्यता र नवीकरण वितरण गरिसक्ने जनाएको थियो ।

तर अहिलेसम्म आठ जिल्लामा समायोजनका काम नै सकाइएको छैन । पहिलो विकल्पका रूपमा उहाँले कात्तिकसम्म नयाँ क्रियाशील सदस्यताको काम सक्नुपर्ने बताउनुभयो ।

दोस्रो विकल्पमा, यदि कोरोना संक्रमित बढिरहे भने १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट वडादेखिका अधिवेशन गर्न सकिने बताउनुभयो ।

तेस्रो विकल्पका रूपमा पौडेलले १३ औं महाधिवेशनकै महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय महाधिवेशन गर्न सकिने पनि सुझाउनुभएको छ ।

पैडेलले भन्नुभयो, ‘महाधिवेशन प्रतिनिधि अहिले छँदैछन् । उनीहरू नयाँ महाधिवेशन नभएसम्म क्रियाशील नै रहन्छन् । त्यसकारण पुरानै महाधिवेशन प्रतिनिधिबाट पनि नेतृत्व चयन गर्न सकिन्छ । महाधिवेशन जसरी पनि गराउने इच्छाशक्ति हुने हो भने विकल्प छन् ।’

कुनै पनि हालतमा फागुन ७ देखि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘यस्तै समस्या देखा पर्ला भनेर मैले तीन वर्ष अघि नै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर जाऔं भनेको थिएँ । महासमिति बैठकमा पनि यो एजेन्डा प्रस्तुत गरेको हुँ । त्यसबेला साथीहरूले ध्यान दिनुभएन । हेर्नुस् को रहेछ दुरदर्शी अहिले थाहा भयो नि !’

पार्टी अधिवेशनमा ढिलाइ भए स्थानीय तह निर्वाचन तयारीमा धक्का पुग्ने र पार्टीका उम्मेदवार फेरि पनि पराजित हुन सक्ने चिन्ता उहाँको थियो ।