१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निषेधाज्ञा खुकुलो बनाएको भन्दै उपत्यकाका मेयरहरु असन्तुष्ट


0
Shares

ललितपुर, भदौ १८ । उपत्यका नगरपालिका फोरम, काठमाडौंले भदौं १८ गतेदेखि थपिएका निषेधाज्ञामा समय तोकेर व्यवसाय संचालन गर्न दिने व्यवस्था प्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले उपत्यका भित्र दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म विकास निर्माणका पसल, व्यवसाय संचालन गर्न सकिने व्यवस्था भदौं १७ गते गरेको थियो ।

फोमका सचिव तथा मध्यपुर ठिमी नगरपालिकाका प्रमुख, मदनसुन्दर श्रेष्ठ र फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनद्धारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले निषेधाज्ञाको खासै अर्थ र उपादेहिता नरहने तथ्यलाई ध्यानमा राख्दै अविलम्ब यसलाई सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ ।’

अत्यावश्यक वस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिने पूर्ववत व्यवस्थालाई कायम राख्दै अन्य समयमा पसल,व्यवसाय संचालनमा रोक लगाउनुपर्ने उल्लेख छ ।

साथै वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका स्थानीय तहबाट प्रवाह गरिदैं आएको अत्यावश्यक बाहेका सेवा प्रवाह २४ गतेसम्म बन्द रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काठमाडौं उपत्यकामा कोभिड १९को संक्रमण तथा मृत्युदर समेत तीब्र रुपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा निधेधाज्ञा आवश्यक भएको विज्ञप्तिमा जनाइएको छ ।