
काठमाडौं, भदौ १९ । मन्त्रिपरिषद बैठकले राष्ट्रपतिमार्फत् मनोनित हुने राष्ट्रिय सभा सांसद सिफारिश गदैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने छ ।
बिहीबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय गरेको थियो ।
गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउन मन्त्रिपरिषदले राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिश गरेपछि उहाँ नियुक्त हुनुहुनेछ ।
राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रिय सभाको एक सदस्य पद ६ महिनायता खाली रहेको थियो । फागुन २० गते आफ्नो दुई वर्षे कार्यकाल सकाउनु भएका डा. युवराज खतिवडालाई प्रधानमन्त्रीले सांसद बिनै अर्थमन्त्री बनाउनु भएको थियो ।
प्रधानमन्त्रीको इच्छा खतिवडालाई नै सांसद बनाउने र अर्थमन्त्रीमा निरन्तरता दिने चाहना भए पनि पार्टीले गौतमलाई सांसद बनाउन सिफारिश गरेको हो ।
खतिवडाका पक्षमा रहनु भएका प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजान कै लागि पार्टी सचिवालयले फागुन १४ गते गरेको निर्णय नै कार्यान्वयन गर्नुभएको थिएन ।
तर प्रधानमन्त्री ओलीको चाहना विपरित पार्टीले गौतमलाई नै राष्ट्रिय सभामा लैजाने निर्णय गरेपछि बिना सांसद ६ महिना अर्थमन्त्रीको कार्यकाल लम्ब्याउनु भएका खतिवडा शनिबारदेखि बहिर्गमन हुनुहुनेछ ।
यता, प्रधानमन्त्रीको शिविरभित्र भने खतिवडालाई कुन जिम्मेवारी दिने भन्ने चर्चा शुरु भएको छ । प्रधानमन्त्री ओलीका प्रियपात्र खतिवडालाई प्रमुख सल्लाहकार बनाएर अर्थतन्त्र हेर्न दिने वा राजदूत बनाउने भन्ने निर्णय भने भैनसकेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्