
काठमाडौं, असार ८ । सांसद भनेका मुलुकको नीति निर्माण गर्ने तहमा पुगेका व्यक्ति । उनीहरुलाई आममानिसले हेर्ने नजर नै अलग्गै हुन्छ । तर हाम्रा सांसदहरुको बोली र संस्कार हेर्दा आम मानिसले अनुसरण त होइन जिब्रो काढ्नुपर्ने अवस्था हुन थालेको छ ।
संसदमा सत्ता र विपक्षीले जनताको मुद्दामा एकार्कालाई उछित्तो काढ्नु नराम्रो होइन । तर त्यसको पनि भाषा, शैली र संस्कार हुन्छ । संसदमा जस्ता खाले भाषा प्रयोग हुन थालेका छन्, त्यसले हाम्रो सांसदहरुको संस्कामाथि नै प्रश्न उठ्न थालेको छ ।
प्रधानमन्त्रीदेखि विपक्षी दलका नेतासम्मले संसदमा गैरसंसदीय भाषा प्रयोग गरेको भनेर सभामुखले ‘रुलिङ’ नै गर्नुपरेको धेरै भएको छैन । आफुले बोलेको ठीक र अरुले बोलेको गैरसंसदीय भन्दै जुहारी चलेको पनि धेरै भएको छैन ।
तर आइतवार फेरि त्यही दृश्य प्रतिनिधिसभा बैठकमा दोहोरियो । प्रतिपक्ष र सत्ता पक्षका सांसदहरुले एकअर्का दलका नेताको नाम बंग्याएर एकअर्काप्रति अमर्यादित अभिव्यक्ति दिए ।
पूर्वमन्त्री समेत रहिसकेका कांग्रेस सांसद उमाकान्त चौधरीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा टिप्पणी गर्दा गलत अर्थ लाग्नेगरी नामको प्रयोग गरे ।
विशेष समयमा बोलेका उनले, ‘जथाभावी कर निर्धारण गरेर करप्रसाद ओली उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको सरकारको कामकारबाही हेर्दा उहाँले सधैं झूठको आश्वासन दिने, झूठको खेती गर्ने भएकोले अब उहाँको नाम झूठप्रसाद ओली उपनाम दिँदा केही फरक पर्नेवाला छैन’ भन्ने टिप्पणी गरे ।
चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नियमापत्ती गरेका नेकपाका सांसद झपट रावलले बोल्दा फेरि चौधरीकै शैली पछ्याए । र उनलार्य जवाफ दिने नाममा उनले प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका बारेमा अपशब्द प्रयोग गरे ।
रावलले पूर्वप्रधानमन्त्री रहिसकेका कांग्रेस सभापति शेरबहादुर देउवालाई अपमानजनक शब्द प्रयोग गरे । आफूहरु नेपाली जनताको प्रतिनिधि भएकाले भाषा सभ्य हुनुपर्छ भन्दै बोलेका उनले, ‘प्रतिपक्ष दलको नेता ज्यू, जो हामीले आदर गर्छौं, सम्मान गर्छौं हामीले पनि उहाँको नाम शेरबहादुर नभनेर छेरबहादुर भन्न यदि बाध्य भयौं भने के हुन्छ ?’ भने ।
यति भन्दै उनले आफु र कांग्रेस सांसद चौधरीले बोलेका दुबै शब्द अमर्यादित र असभ्य भाषा भन्दै रेकर्डबाट हटाउन माग पनि गरे । तर सभामुख कृष्णबहादुर महराले हटाउने निर्णय गरेनन् र ‘मैले केगर्ने त्यो निर्णय पछि गर्छु’ भने ।
चौधरीले प्रधानमन्त्री ओलीप्रति अपशब्द गर्दा नेकपाका सांसदद्वय महेश वस्नेत र बोहोरा आफुहरु बसेकै स्थानमा खस्याकखुसुक गर्दै थिए । लगत्तै बोहोराले नियमापत्ति गर्दै आफुलाई बोल्न समय दिन आसनबाट उठेका थिए ।
तर सभामुखले भने पछि बोल्नुहोला भन्दै चन्दा चौधरी, प्रदीप यादव, प्रेम सुवाल र राजेन्द्रकुमार केसीलाई समय दिएका थिए ।
यस प्रकरणले फेरि पनि के देखिएको छ भने हाम्रा सांसद सार्वभौम भनिएको संसदमा देशकै प्रधानमन्त्री र विपक्षी दलका नेताप्रति कुनस्तरको भाषा शैली पैयोग गर्दैछन् भन्ने देखाएको छ ।
देशका प्रधानमन्त्री र विपक्षी दलका नेताप्रति तिनकै दलका सांसदहरुले यस्ता शब्द प्रयोग गर्दा आममानिसले कस्तो धारणा बनाउँलान् ?
हुनत संसदमा सांसदले बोलेका र उठाएका विषयलाई लिएर उनीहरुमाथि मुद्दा लाग्न नसक्ने सांसदको विशेषधिकार रहेको हुन्छ । तर आफुले बोलेका शब्दले आफैलाई लज्जाबोध चाहिँ हुनुपर्दैन ?
संसद भनेको नीति निर्माताहरु जमघट हुने र मुलुकको ऐन कानुन बनाउने थलो हो ।
यहाँ पुगेका सांसदहरुको चरित्र र संस्कार यस्तो देखेपछि हाम्रो संसदकै इज्जत र गरिमा बढ्छ कि यसले नाक काट्छ ? सभामुखदेखि सांसदहरु आफैले आफैलाई प्रश्न गर्न पर्ला कि ?
प्रतिक्रिया दिनुहोस्