
काठमाडौं, भदौ २१ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले समयमा रासायनिक मल आपूर्ति नगर्ने ठेकदारहरूको ठेक्का रद्द गरि धरौटी जफत गरेको जानकारी दिनुभएको छ ।
मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले तोकिएको मितिमा मल नल्याउने शैलुङ इन्टरप्राइजेज प्रा.लि. र होनिको मल्टिपल प्रा.लि.का ठेकेदारलाई कारबाही गरिएको बताउनुभयो ।
मल आयात गर्न नसक्ने दुवै सप्लायर्सको करिब १० करोड रुपैयाँ जफत गरिएको उहाँको भनाइ थियो ।
तोकिएको मितिमा मल ल्याउन नसकेकोमा क्षमा माग्दै मन्त्री भुसालले आगामि दिनमा गल्ती दोहोरिन नदिने प्रतिवद्धता जनाउनुभयो ।
कृषि सामाग्री कम्पनीले गत वैशाखमा शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग २५–२५ हजार मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता गरेको थियो ।
दुवै सप्लायर्सलाई २०७७ साउन ८ गते भित्रमा तोकिएको मल अयात गरिसक्नुपर्ने समय सीमा तोकिएको थियो ।
त्यसपछि पनि २५ दिन थप गरिएकोमा उक्त मिति सम्म पनि मल सिपमेन्ट हुन नसकेपछि सम्झौता रद्द गरिएको हो ।
मन्त्री भुसालले बङ्गलादेश सरकारसँग ५० हजार मेट्रिकटन पछि फर्काउने गरी पैंचो मागिएकोे मल ल्याउने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो ।
नेपालमै युरिया मल उत्पादनका लागि कारखाना खोल्ने सम्बन्धमा मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा ‘रसायनिक मल कारखाना सम्भाव्यता अध्ययन कार्यदल’ गठन गरि काम आरम्भ भइसकेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्