१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रचण्डका घरबेटीमाथि घनश्यामको कानूनी डण्डा, ठेक्का लिएर काम नगर्ने शारदा बल्ल परे फन्दा


0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीमाथि सरकारले कार्वाही थालेको छ ।

किसानको खेतबारीमा हाल्ने मल झिकाउँछु भन्दै ठेक्का हत्याएको अधिकारीको शैलुङ इन्टरप्राइजेजले मल नल्याएपछि कृषि मन्त्रालयले उनीमाथि कार्वाही गरेको हो ।

अधिकारीको शैलुङ इन्टरप्राइजेजकासाथै अर्का ठेकेदार हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता पनि रद्द गरिएको हो ।

कृषि मन्त्री घनश्याम भुषालले पत्रकार सम्मेलन नै गरेर सरकारलाई झुक्याउने दुई कम्पनीले राखेको पाँच/पाँच करोडको धरौटी जफत गर्ने निर्णय गरिएको पनि जानकारी दिनुभयो ।

मन्त्री भुषालले भन्नुभयो, ‘तत्कालका लागि सम्झौता रद्द गरिएको छ । धरौटी जफत प्रक्रिया अघि बढाइएको छ ।’

५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा यी दुबै कम्पनीलाई सरकार नियन्त्रित कृषि सामग्री कम्पनी लिमिटेडले पुरस्कृत गरेको थियो ।

दुवै कम्पनीले साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्ने बाचा गर्दै सम्झौता गरेका थिए ।

कृषि तथा पशुपन्छी विकासमन्त्री भुसालले समयमा मल आपूर्ति नगर्ने ठेकदारहरूको ठेक्का रद्द गरेर धरौटी जफत गर्नुका साथै उनीहरूलाई कानुनबमोजिम थप कारबाही पनि गरिने बचन दिनुभयो ।

मन्त्रालयमा सुशासनको अभियान थालनी गरिएको दाबी गर्दै भुषालले पत्रकारहरुसँग भन्नुभयो, ‘जनता र राज्यलाई हानी पुर्‍याउने यसखाले कुनै पनि गतिविधिप्रति मन्त्रालय र मन्त्रालय मातहतका निकायहरू बेखवर रहन सक्दैनन् भन्ने तथ्य स्थापित भएको छ ।’

मल आयातमा दशकौंदेखि रहँदै आएको बेथितिको अन्त्य गर्ने प्रक्रिया थालनी गरिएको जिकीर गर्दै उहाँले नेपालमै मल कारखाना खोल्नेबारे सम्भाव्यता अध्ययन गर्न समिति बनेको जानकारी पनि दिनुभयो ।