१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड


0
Shares

kp oli primeminister ignore to attend standing commitee meeting

काठमाडौं, भदौं २१ । सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री केपी ओलीले जोड दिनुभएको छ ।

आइतबार साँझ बालुवाटारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानन्त्री ओलीले कोरोनाविरुद्ध सबै एकजुट भएर लड्नु पर्ने बताउनुभयो ।

छलफलमा सहभागी उद्योगी व्यवसायीहरुसँग प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्छ । छलफललाई मैले सकारात्मक रूपमा लिएको छु । यस्ता छलफल अझ पनि जारी राख्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कोरोनाविरूद्धको लडाई साझा हो । यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ ।’

छलफललाई प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको र मिलेर अघि बढ्न आग्रह गरेको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्ने बताउनु भएको छ । प्रधानमन्त्रीले छलफल फलदायी भएको बताउनुभयो ।’

अर्थतन्त्र चलायमान बनाउने विषयमा छलफल भए पनि प्रधानमन्त्रीले निषेधाज्ञा र लकडाउनका विषयमा भने केही नबताएको छलफलमा सहभागीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग करिब तीन घण्टा छलफल गरे पनि लकडाउनबारे ठोस कुरा नबताउनुभएको हो ।

प्रधानमन्त्रीले सरकार उद्योग व्यवसाय जोगाउनका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि बताउनुभएको थियो ।

छलफलका क्रममा व्यवसायीहरूले अहिलेको लकडाउन अनन्त गर्दा अर्थतन्त्र कोमामा पुग्ने चेतावनी दिएका थिए । उनीहरुले सुरक्षाका उपाय कडाइका साथ लागू गरेर भए पनि अर्थतन्त्र खोल्नुपर्ने सुझाव दिएका छन् ।

उनीहरूले श्रमिक व्यवस्थापनदेखि ऋणको ब्याज छुटसम्मका माग राखेकामा प्रधानमन्त्रीले अर्थतन्त्रमा थप क्षति हुन नदिन सरकारले कदम चाल्ने बचन दिनुभएको थियो ।