
काठमाडौं, असार ९ । नेत्रविक्रम चन्द समूहका सर्लाही ईन्चार्ज कुमार पौडेलको मृत्युका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले दिएको जानकारी विश्वसनीय नभएको सांसदहरुले टिप्पणी गरेका छन् ।
उनीहरुले गोली लागेर मारिएको व्यक्तिको हात ६/७ ठाउँमा कसरी भाँचियो ? भन्ने प्रश्न पनि गरेका छन् ।
संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वगृहमन्त्री जनार्दन शर्माले पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने जिकिर गरेका हुन् । प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताबाट आएको रिपोर्ट फरक रहेको उनले बताए ।
‘प्रहरीको रिपोर्टले मूठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर जनताको पनि रिपोर्ट छ, त्यसले मूठभेडमा पौडेलको मृत्यु भएको भन्दैन ।’ नेकपा सांसद शर्माले राज्य व्यवस्था समितिको बैठकमा जिकिर गरे ।
उनले गोली लागेर मारिएको व्यक्तिको हात ६/७ ठाउँमा कसरी भाँचियो भन्दै गृहमन्त्री थापासँग प्रश्न गरे । सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्ने भन्दै शर्माले चन्द समूहलाई प्रतिवन्ध लगाउनु जरुरी नभएको पनि बताए । चन्दसँग तत्काल वार्ता थाल्न पनि शर्माले सुझाव दिए ।
शर्माले जस्तै कांग्रेसका सांसद दिलेन्द्र बडुले पनि चन्द समूहको क्रियाकलाप नियन्त्रण गर्ने नाममा असंवैधानिक र मानवअधिकार हनन नगर्न सरकारलाई सचेत गराए ।
गृहमन्त्री थापाले भने पौडेलको मृत्यु प्रहरीको जवाफी कारबाहीमा भएको जिकिर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्