१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्री ओलीविरुद्ध साउदीमा नाराबाजी, पीडित श्रमिकले भने ‘देश छोड्’


26
Shares

pm kp oli saudi nepali workers corona

काठमाडौं, भदौं २३ । विदेशमा बेसहारा अलपत्र परेका पीडित नेपाली श्रमिकले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको परिसरमा रहेका नेपाली श्रमिकले प्रधानमन्त्री ओलीलाई ‘देश छोड्’ भन्दै नाराबबाजी गरेका हुन् ।

कम्पनीमा काम गुमाएर अलपत्र परेर नेपाल फर्किन विमान कुर्दा समयमा विमान नजाँदा स्वदेश फर्किन नपाएका श्रमिकहरुले सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।

आफूलाई घर पठाउने व्यवस्था गर्न आग्रह गर्दा कम्पनीले नेपाली दूतावासकै कारण रोकिनु परेको बताएपछि उनीहरु प्रधानमन्त्री र स्थानीय दूतावासविरुद्ध नाराबाजीमै उत्रिएका हुन् ।

महिनौंदेखि विमान कुरिरहेकाहरुले मंगलबार पनि नेपाल उड्न नपाएपछि, ‘केपी ओली, देश छोड’, ‘नेपाली दूतावास खारेज गर’ ‘मूर्दावाद’ जस्ता नारा लगाएका भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

केही देशमा सीमित उडान थाले पनि साउदीसहितका केही देशमा भने पिसिआर परीक्षण सहज नभएको भन्दै सरकारले चार्टर्ड उडानका लागि मात्रै अनुमति दिएको छ । तर उडान संख्या सीमित हुँदा अलपत्र हजारौं श्रमिक आक्रोशित बनेका हुन् ।

नाराबाजी भएको साउदीको सेमास्को कम्पनीमा मात्र करिब १० हजार नेपाली काम गर्ने जनाइएको छ । केहीलाई कम्पनी आफैले विमानको टिकट काटेर स्वदेश फर्काइदिन लागेको हो ।

साउदी दूतावासले भने सेप्टेम्बर ८ मा उड्न नपाएकाहरुलाई १८ तारेखको उडाउने गरी समाधान गरिएको जनाएको छ ।

साउदीमा १२ हजारभन्दा बढी श्रमिक फर्किन लाइनमा रहेको जनाइएको छ ।

यस्तै समस्या लेबनान, कतार, यूएई र कुवेतमा रहेका नेपालीले पनि ब्यहोरिरहेका छन् । यी देशबाट हजारौं नेपाली उद्धारको पर्खाइमा रहेका छन् ।