
काठमाडौं, भदौ २३ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निषेधाज्ञाको समयमा पनि नियमित अनुगमन गरिरहेको बताएको छ ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले निषेधाज्ञाको अवस्थामा अनुगमनमा जान असहज परिस्थिति भएपनि जनगुनासोलाई सम्बोधन गर्न नियमित रुपमा बजार अनुगमन गरिएको बताउनुभयो ।
उहाँले कुनैपनि उपभोक्तालाई खाद्य वस्तुको स्वच्छता र गुणस्तरको बारेमा शंका लागेको खण्डमा फोनबाटै उजुरी दिएमात्रै पनि तत्काल अनुगमनमा जाने व्यवस्था मिलाइएको बताउनुभयो ।
निषेधाज्ञाको अवस्थामा आवागमनमा असहज हुँदा विभागमा ५० प्रतिशत कर्मचारी आउने गरेका छन् ।
तरपनि विभागले नियमति अनुगमनको कार्यलाई नरोकेको महर्जनले स्पस्ट पार्नुभयो ।
विभागले लकडाउन सुरु भएयता खाद्य पदार्थको गुणस्तर सम्बन्धी गुनासोबाट खाद्य पसल, गोदाम, खाद्य उद्योगहरु तथा तरकारी फलफूल बजारको १ सय १० पटक ३ सय भन्दा बढी खाद्य व्यवसायहरुमा निरीक्षण अनुगमन गरेको छ ।
विभागले कोभिड महामारीको अवस्थामा आकस्मिक निरीक्षण एवं जनगुनासो सम्बोधन तथा प्रयोगशाला जाँच विश्लेषणका लागि ‘र्यापिड रेस्पोन्स टिम’ गठन गरी निरीक्षण अनुगमन तथा प्रयोगशाला विश्लेषण गर्दै आएको प्रवक्ता महर्जनले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्