२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोरोनासँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प छैन : रक्षामन्त्री पोखरेल


0
Shares

काठमाडौं, भदौ २३ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग ‘लिभिङ टुगेदर’ मा अगाडी बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आफ्नो अस्तित्व कायम हुनेगरी कोरोना सँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताउनुभएको हो ।

उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले महामारीसँग जुध्दै आफ्नो अस्तित्व कायम राख्नु बुद्धिमानी हुने बताउनुभयो ।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) का संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले लक डाउन खुकुलो भएपछि बढेको आवतजावतले उपत्यका संक्रमणको हब बनेको बताउनुभयो ।

सरकारले कोरोना नियन्त्रणका लागि आइसोलेसन निर्माण गर्दै नीजि अस्पताल र शिक्षण अस्पतालहरुसँग सम्झौता गरेर अगाडी बढिरहेको बताउनुभयो ।

उपत्यकाका सांसदहरुको संयोजन गर्दै उपप्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन पुग्नुभएका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले आइसोलेसनसँगै उपत्यका बाहिरबाट आउनेहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

स्थानीय सरकारमार्फत सर्वसाधारणको कोरोना विमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद शशी श्रेष्ठले रोगले भन्दा जनता भोकले मर्ने अवस्था आएकाले यसतर्फ सरकारले ध्याना दिनुपर्ने बताउनुभयो ।

महामारीका कारण जनजीवनमा परेको प्रभाव र सरकारले गरेका कामहरुको समिक्षा गर्दै उपत्यकाबाट प्रतिनिधसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले सुझावसहित उपप्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।