१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध


0
Shares

मुग्लिन, भदौ २४ । वर्षासँगै आएको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित हरिपुर खोलामा बनाएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको छ ।

एक महिनाअघि मात्र निर्माण गरिएको डाइभर्सन गए रातिको वर्षासँगै आएको बाढीले बगाएको हो ।

गत साउन ११ गते आएको बाढीले झण्डै दुई दशकअघि बनाइएको हरिपुर खोलाको मोटरेवल पुल बगाएपछि गाउँपालिकाले आठ दिन लगाएर डाइभर्सन निर्माण गरी अस्थायीरूपमा सडक सञ्चालन गरेको थियो ।

बाढीले डाइभर्सन बगाएपछि स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ ।

इच्छाकामना–७ अन्तर्गत खेतबारी, स्याङ्दी, सिमलढाप, गर्दासलगायत नागरिक सदरमुकाम भरतपुर र गाउँपालिका केन्द्र कुरिनटार आउजाउ गर्ने गर्थे ।

सो सडक अवरुद्ध भएपछि त्यस भेगका करिब तीन हजारभन्दा बढी नागरिकलाई आउजाउ गर्न असुविधा भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो ।

उहाँका अनुसार उक्त सडक भएर दैनिक ३०० भन्दा बढी मोटरसाइकल र १०० भन्दा बढी साना–ठूला गाडी चल्ने गर्छन् । रासस