
ललितपुर, भदौ २४ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भदौ १८ रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेकालाई निसर्त अबिलम्ब रिहा गर्नुपर्ने बताउनु भएको छ ।
महानगरका प्रमुख महर्जनद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ ललितपुर महानगरपालिकाभित्र भएको उक्त घटनामा पक्राउ परेकाहरुको रिहाइका लागि ललितपुर महानगरपालिका प्रमुखको हैसियतले म , ज्यापु समाज र १९ वटा जातिय संघसंस्था समेतले निसर्त रिहा गर्न स्थानीय प्रशासनलाई भनेको कुरा जानकारी गराउन चाहन्छु । ’
विना योजना, स्थानीय प्रशासनलाई जानकारी नै नदिई भदौ १८ गते एक समूहले ललितपुरको पुल्चोकमा रहेको रथ तानेको थियो ।
रथ तान्ने क्रममा प्रहरी र रथ तान्न गएका समूहहरुबीच दोहोरो झडप भएको थियो ।
स्थानीय प्रशासन र रथ तान्ने समूहबीच गत बिहिबार भएको घटनापछि ज्यापु समाजको नेतृत्वमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबुु महर्जन सहित १९ वटा जातिय संघसंस्था र मसहितको छलफल पश्चात भदौ २१ गते धार्मिक विधिपूर्वक सांकेतिक रुपमा श्री मछिन्द्रनाथ रथ तानिएको थियो ।
विज्ञप्तिमा भदौ १८ गते विधि नपुर्याई रथ तान्दा उत्पन्न परिस्थितिले धर्म संस्कृतिप्रेमी सबैको मनमा घाउचोट लागेतापनि भदौं २१ गते धार्मिक प्रक्रिया र विधिपूर्वक सौहर्दपूर्ण वातावरणमा स्वास्थ्य सतर्कता अबलम्बन गरी रथ तान्ने काम सम्पन्न भएबाट घाउचोटमा मल्हमपट्टि लागेको ठहर गरेको उल्लेख छ ।
विज्ञप्तिमा भदौ १८को घटनामा घाइते भएका ट्राफिक प्रहरी लगायत अन्यको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबुले आफूलाई मार्ने अभिव्यक्ति दिने व्यक्तिलाई समेत निसर्त अबिलम्ब रिहा गर्नुपर्ने बताउनुभएको छ ।
जारी विज्ञप्तिमा भनिएका छ, ‘ ती व्यक्तिले उत्तेजनामा आएर त्यस्तो गलत उत्तेजनात्मक अभिव्यक्ति दिएको मेरो ठहर छ ।
त्यो अभिव्यक्तिलाई मैले उत्तेजनात्मक र आवेशमा आएर दिएको अभिव्यक्तिको रुपमो लिएको छु । तसर्थ, निज संजय शाक्यलाई पनि निसर्त यथाशीघ्र रिहा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँछु । ’

प्रतिक्रिया दिनुहोस्