
प्रतीक्षा खनाल
काठमाडौं, असार १० । संसारभरमा सबैभन्दा धेरै मृत्यु नसर्ने रोगले हुने गरेको छ । मानिसहरु सरुवा रोगको प्रकोपबाट बच्न हरसम्भव प्रयास गर्छन् ।
सबैभन्दा बढि मृत्युको कारण बन्ने गरेका रोगहरुमध्ये कतिपय रोग आफ्नो खानपान र जीवनशैलीमा सुधार ल्याए नियन्त्रण गर्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सन् २०१६ मा करिब ५ करोड ६९ लाख व्यक्तिको मृत्यु भएको थियो । जसमध्ये आधाभन्दा बढि मृत्युको कारण थिए १० रोग ।
१. कोरोनरी मुटुरोग
हाल संसारको सबैभन्दा घातक रोग कोरोनरी मुटुरोग हो । कोरोनरी मुटुरोग सन् २०१६ मा ९० लाखभन्दा बढि मानिसको मृत्युको कारण बनेको थियो । सन् २०१५ मा संसारभरीका ८८ लाखको मृत्यु यस रोगबाट भएको थियो ।
मुटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँघुरो वा बन्द हुनाले लाग्ने रोग कोरोनरी मुटुरोग हो । कोरोनरी मुटुरोगले अन्य मुटुरोगका साथै हृदयाघात पनि गराउँछ ।
अव्यवस्थित जीवनशैली, उच्च रक्तचाप, मधुमेह, रगतमा कोलेस्टेरोल मात्रा उच्च हुनु, धुम्रपान लगायत कोरोनरी मुटुरोगका जोखिमका अवस्था हुन् ।
२.मस्तिष्कघात
मस्तिष्कमा जाने रगतको सञ्चारमा अवरोध आउनुलाई मस्तिष्कघात भनिन्छ । मस्तिष्कमा रगत सञ्चालन गराउने नली बन्द हुँदा वा रक्तश्राव हुदाँ मस्तिष्कघात हुने गर्दछ । सामान्यतः यिनै दुई कारणले मस्तिष्कघात हुने गर्छ ।
सन् २०१६ मा करिब ६० लाख मानिसको मृत्यु मस्तिष्कघातका कारण भएको थियो भने सन् २०१५ मा संसारमा ६२ लाखको मृत्यु यस रोगबाट भएको थियो ।
उच्च रक्तचाप, मधुमेह, रगतमा कोलेस्टेरोलको मात्रा उच्च हुनु मस्तिष्कघातको जोखिमका अवस्था हुन् । जन्मिँदै रगतको समस्या देखापरेका कारण पनि मस्तिष्कघात हुने गर्छ ।
३. दीर्घकालिन अब्सट्रक्टीभ पल्मुनरी रोग
श्वासप्रश्वास प्रणालीमा लामो अवधिको क्षतिका कारण भएको श्वासप्रश्वास नलीको अवरोध वा संकुचनलाई दिर्घकालिन अब्सट्रक्टीभ पल्मुनरी भनिन्छ । यो फोक्सोसँग सम्बन्धित दीर्घ रोग हो जसका कारण सास फेर्न गाह्रो हुन्छ ।
सन् २०१६ मा संसारभर ३० लाख मानिसको मृत्यु यस रोगको कारणले भएको थियो । सन् २०१५ मा करिब ३१ लाख मानिस यसैका कारण मृत्युको मुखमा पुगे । धुम्रपान गर्ने, धुँवायुक्त वातावरणमा धेरै वर्ष बिताउनु नै यस रोगको जोखिमका अवस्था हुन् ।
४. श्वासप्रश्वास प्रणालीको संक्रमण
हाम्रो शरीरको वायु मार्ग र फोक्सोमा हुने संक्रमणलाई श्वासप्रश्वास प्रणालीको संक्रमण भनिन्छ ।
श्वासप्रश्वास सम्बन्धि संक्रमणका कारण सन् २०१६ मा करिब ३० लाखको मृत्यु भएको थियो भने सन् २०१५ मा यसै रोगका कारण ३२ लाखको मृत्यु भयो । कमजोर प्रतिरक्षा प्रणाली, धुम्रपान, प्रदुषित हावा लगायत यस रोगका जोखिमका अवस्था हुन् ।
५.अल्जाइमर्स तथा अन्य डिमेन्सिया
वृद्धावस्थासँगै मस्तिष्कका कोशिकाहरु विस्तारै नष्ट हुँदै जान्छन् । जसकारण बिर्सने तथा सामान्य मानसिक क्रियामा रोकावट पुर्याउने गर्दछ । यसलाई नै डिमेन्सिया रोग भनिन्छ ।
यसले सोच्ने सम्झने शक्ति, तर्क विवेकको क्षमता र सामान्य व्यवहारमा समेत ह्रास ल्याउँछ ।
अल्जाइमर्स तथा अन्य डिमेन्सियाका कारण सन् २०१६ मा करिब २० लाखको मृत्यु भएको थियो भने सन् २०१५ मा यसै रोगका कारण १५ लाखको मृत्यु भएको थियो ।
वृद्धावस्था, अस्वस्थ जीवनशैली, टाउकोमा लागेको चोट, भिटामिनको कमी , रक्त सञ्चारमा समस्या, सोडियमको कमी, मानसिक तनाव लगायत यस रोगका जोखिमका अवस्था हुन् ।
६. श्वासप्रश्वास सम्बन्धि क्यान्सर
श्वासप्रश्वास सम्बन्धि क्यान्सरमा श्वासनली देखि फोक्सोसम्मको क्यान्सर समावेश हुन्छ ।
सन् २०१६ मा करिब १९ लाख मानिसको यस रोगका कारण मृत्यु भएको थियो भने सन् २०१५ मा १७ लाखको मृत्यु भएको थियो ।
धुमपान गर्नु वा धुँवाधुलोमा सास लिनु, परिवारमा अन्यलाई श्वासप्रश्वास सम्बन्धि क्यान्सर हुनु लगायत यस रोगका जोखिमका अवस्था हुन् ।
७. मधुमेह
रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रूपमा मधुमेह भनिन्छ । पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा यो समस्या हुन्छ ।
मधुमेहले धेरै जटिलता निम्त्याउन सक्छ जस्तै, मुटु तथा रक्तनलीका रोगहरु, मस्तिष्कघात, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू ।
मधुमेह सन् २०१६ मा १८ लाख भन्दा बढि मानिसको मृत्युको कारण बनेको थियो । सन् २०१५ मा संसारभरीका १६ लाखको मृत्यु यस रोगबाट भएको थियो ।
वंशानुगत, धेरै तौल, उच्च रक्तचाप, बढ्दो उमेर, व्यायाम नगर्नु, अस्वस्थकर खाना, यस रोगका जोखिमका अवस्था हुन् ।
८.झाडापखालाबाट निर्जलीकरण
दिनमा तीन चारपटक भन्दा बढी पातलो दिसा लाग्नुलाई झाडापखाला भनिन्छ । झाडापखाला भाइरस र ब्याक्टेरियाका कारण हुने गर्दछ जुन दुषित खाना वा पानीको माध्यमबाट हाम्रो शरीरमा पुग्ने गर्दछ ।
यदि केही दिनसम्म लगातार झाडापखाला भयो भने शरीरमा पानी र नुनको कमी हुन थाल्छ । यसले शरीरमा निर्जलीकरण गराउँछ जसका कारण मुत्युसमेत हुने गर्दछ ।
झाडापखालाबाट निर्जलीकरणका कारण सन् २०१६ मा करिब १६ लाखभन्दा धेरैको मृत्यु भएको थियो भने सन् २०१५ मा यसै रोगका कारण १४ लाखको मृत्यु भएको थियो ।
फोहोर ठाउँमा बस्नु, सफा पानी नपिउनु, कुपोषण, कमजोर प्रतिरोधी क्षमता यस रोगका जोखिमका अवस्था हुन् ।
९. क्षयरोग
क्षयरोग संक्रामक रोग हो जुन ब्याक्टेरियाको कारणले लाग्ने गर्छ । साधारणतया क्षयरोगले फोक्सोमा आक्रमण गर्छ तर यसले शरीरका अन्य भागमा पनि असर पुर्याउन सक्छ । कतिपय संक्रमणमा लक्षणहरू देखा पर्दैनन् त्यस्तो अवस्थालाई निष्कृय क्षयरोग भनिन्छ ।
करिब दशमा एक निष्कृय क्षयरोग विस्तारै बढ्दै गएर सक्रिय हुन सक्छ । यो रोगको उपचार सम्भव छ तर गम्भीर परिस्थितिमा बिरामीको मृत्यु पनि हुनसक्छ । करिब ३५ प्रतिशत एचआइभीसम्बन्धि मृत्यु क्षयरोगका कारण हुने गर्दछ ।
मधुमेह, एचआइभी संक्रमण, तौलमा कमी, क्षयरोग बिरामी नजिक बस्नु, कमजोर प्रतिरोधी क्षमता आदि यस रोगका जोखिमका अवस्था हुन् ।
१०. लिभर सिरोसिस
लामो समय अधिक रक्सी सेवन तथा लामो समयसम्म भाइरल संक्रमणले कलेजोको तन्तु र कोषिकाहरु मर्दै जान्छ र कलेजोको आकार घट्दै जान्छ ।
यसले कलेजोमा स्थायी रूपमा दाग बसाल्ने गर्छ, जुन दागका कारण कलेजोको कार्य क्षमता घट्दै जान्छ र गम्भीर अवस्थामा कलेजोले काम गर्न छोड्छ । यसलाइ मेडिकल भाषामा लिभर सिरोसिस भनिन्छ ।
सन् २०१५ मा यसै रोगका कारण १२ लाख मानिसको मृत्यु भएको थियो । मद्यपान, हेपाटाइटिस बी र सी मधुमेह, मोटोपना, कलेजोमा बोसोको मात्रा अधिक हुनु यस रोगका जोखिममा अवस्था हुन् ।
प्रतिक्रिया दिनुहोस्