
काठमाडौं, भदौ २४ । साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ अलपत्र परेका नेपालीलाई तत्काल फर्काउने चार्टड फ्लाइट सुरु गरि उडान संख्या थप्न सरकारसँग आग्रह गरेको छ ।
तत्काल घर फर्कन पर्नु अवस्थाका करिब २८ हजार नेपालीलाई स्वदेश फर्काउन नेपालबाट अहिले भइरहेको एउटा मात्र उडानले सम्भव नहुने भएकाले तत्काल चाटर्ड उडानको संख्या बढाउनु पर्नेमा दूतावासले जोड दिएको छ ।
साउदी अरबमा अहिले व्यवसायीक उडानका लागि हिमालय एयरलाइन्सले मात्रै अनुमति लिएको छ ।
वैदेशिक रोजगार पत्रकार समाजले बुधबार गरेको भर्चुअल अन्तरक्रियामा राजदुत महेन्द्र राजपूतले नेपालबाट व्यवसायीक उडान गर्दा एक पटकमा जम्मा २ सय ५४ जना मात्रै स्वदेश फिर्ता हुने तर अर्काे उडान हुने भन्ने यकिन नहुने गरेकोले कामदा समस्यामा परेको बताउनुभयो ।
राजदूत राजपुतले नेपालीलाई फर्काउन दैनिक पाँचवटा चाटर्ड उडान थप्न सरकारलाई आग्रह गर्नुभयो ।
सरकारले वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत बनाएको निर्देशिका संशोधन गर्न सुझाव दिँदै राजदूत राजपुतले निःशुल्क र सःशुल्कको बहसमा अल्झिनु भन्दा पनि चाँडोभन्दा चाँडो कामदारलाई स्वदेश फर्कने बतावरण बनाउ आवश्यक रहेको बताउनुभयो ।
श्रम मन्त्रालयले भने कामदार फिर्तिको सहजीकरणका लागि श्रम सहचारीसँगै विभिन्न दातृ निकायसँग छलफल गरिरहेको जनाएको छ ।
साउदी अरबबाट स्वदेश फिर्तिका लागी २८ हजारले आवेदन दिएका छन् । १५ हजार नेपालीले रोजगार गुमाएका छन् ।
कोरोना संक्रमणबाट साउदीमा मात्रै ५२ जना नेपालीको मृत्यु भइसकेको छ ।
तत्काल स्वदेश फिर्तिको माग गर्दै त्यहाँ रहेका नेपाली श्रमिकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै सोमबार नाराबाजी समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्