
काठमाडौं, भदौं २४ । बलिउड अभिनेत्री कंगना रनौटले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई सामाजिक सञ्जालमार्फत् चेतावनी दिएकी छिन् ।
हिमाञ्चल प्रदेशबाट मुम्बई फर्किए लगत्तै ट्वीटरमार्फत् दिइएको भिडियो चेतावनीमा कंगनाले मुख्यमन्त्री ठाकरेलाई भनेकी छन्, ‘आज मेरो घर भत्किएको छ, भोलि तिम्रो घमण्ड भत्किनेछ ।’
ह्यासट्याग डेथ डेमोक्रेसी लेख्दै कंगनाले त्यति मात्र भनेकी छैनन्, उनले ठाकरेलाई चलचित्र माफियासँग मिलेर आफूविरुद्ध लागेको आरोप पनि लगाएकी छिन् ।
भिडियोमा उनले भनेकी छिन्, ‘उद्धव ठाकरे, चलचित्र माफियासँग मिलेर मेरो घर भत्काएर मसँग ठूलै बदला लिए जस्तो लाग्छ होला । आज मेरो घर भत्किएको छ, भोलि तिम्रो घमण्ड टुट्ने छ । याद रहोस् यो समयचक्र हो, सधैँ एकनास हुँदैन । मलाई लाग्छ तिमीले यो गरेर मलाई ठूलो गुन लगायौँ ।’
कंगनाले चेतावनीको शैलीमा, आफूले काश्मिरी पण्डितहरुका पीडाका बारेमा पनि सिनेमा बनाएर देशलाई जगाउने भनेकी छिन्, ‘काश्मिरी पण्डितहरुलाई त्यो बेला के भएको थियो होला, त्यो म महशुस गर्न सक्छु । आज म यो देशलाई वचन दिन्छु कि अयोध्यामा आधारित मात्र हैन कश्मिरमा आधारित पनि चलचित्र बनाउँछु । र आफ्नो देशवासीलाई जगाउँछु कि यो हामी माथि किन हुन्छ । ममाथि यस्तो भयो यसको केही कारण छ, मतलब छ । उद्धव ठाकरे राम्रो भयो, यो क्रुरता ममाथि भयो किनभने यसको केही अर्थ छ । जय हिन्द, जय महाराष्ट्र ।’
कंगना चण्डीगढ–मुम्बई फ्लाइटबाट मुम्बई पुग्दा विमानस्थलमा बाहिर करणी सेना कंगनाको समर्थन तथा शिवसेनाको विरोधमा नाराबाजी गरिरहेका थिए ।
बुधबार मात्रै मुम्बईको उच्च अदालतले अभिनेत्री कंगना रनौटको निवेदनपछि मुम्बई महानगरपालिकको कारवाहीमाथि रोक लगाउने आदेश पनि दिएको छ ।
योभन्दा अगाडि मुम्बई महानगरपालिकाको एक टोलीले कंगना रनौटको बंगलाको केही हिस्सालाई भत्काउने काम सुरु गरेको थियो ।
महानगरपालिकाले भवनको केही हिस्सालाई अवैध तरिकाले बनाइएको भन्दै डोजरले भत्काएको थियो ।
प्रतिक्रिया दिनुहोस्