१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एसिड हान्नेलाई कारवाहीका लागि १५ दिनभित्र कानुन मस्यौंदा गर्न प्रधानमन्त्रीको निर्देशन


0
Shares

kp oli primeminister acid attack ordinance

काठमाडौं, भदौं २५ । प्रधानमन्त्री केपी ओलीले तेजाब आक्रमण जस्ता अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानुन ल्याउने बचन दिनुभएको छ ।

यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्रीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले अपराधीको सम्पत्ति रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताउनुभएको छ ।

देशका विभिन्न स्थानमा एसिड आक्रमणमा परी पीडित भएकाहरुसँग बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने बचन दिनुभएको हो ।

प्रधानमन्त्रीले बिहीबार देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितलाई बालुवाटारमा बोलाएर उनीहरूको पीर, मर्का सुनेको र अध्यादेशमार्फत १५ दिनभित्र नयाँ कानुन बनाउन कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

तेजाब पीडितहरूले राखेको माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै उहाँले आक्रमण पछि पढ्न चाहनेका लागि निःशुल्क पठनपाठन र तालिमको प्रबन्ध गरिने पनि बताउनुभयो ।

हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमणविरूद्दको जागरण दिवसका रूपमा मनाउने व्यवस्था मिलाउनु पनि उहाँले निर्देशन दिनुभएको छ ।

नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडित रहेको जनाइएको छ ।