१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विदेशबाट फर्कने यात्रुको कोटा हट्यो, व्यवसायीक उडान थपिँदै


0
Shares

काठमाडौं, भदौ २५ । सरकारले विदेशबाट दैनिक ८०० जना मात्रै यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा हटाएको छ ।

कोटा हटाएर नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रम मन्त्रीको बीचमा भएको छलफल पछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलबीचको उच्च स्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको उहाँले जानकारी दिनुभयो ।

योसँगै सरकारले खोलेको अन्तर्राष्ट्रिय व्यवसायिक (नियमित)उडानतर्फ एयरलाइन्सले अनुमति मागेमा थप उडानको अनुमति पाउने भएका छन् ।

मन्त्री भट्टराईले कोभिड संक्रमण कम भएका मूलुकबाट पीसीआर नेगेटिभ भएका व्यक्तिलाई ल्याउन एयरलाइन्सहरुबाट माग भए अनुसार नियमित उडानको संख्या थप्ने समझदारी भएको बताउनुभयो ।

पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अथवा कुनै विदेशी कम्पनीले आफ्नै खर्चमा कादमारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदन गरिने उहाँले बताउनुभयो ।

विदेशमा बेखर्ची भएर बस्नुपरेका नेपालीहरुलाई भने श्रम कल्याणकारी कोषबाट उद्धार गर्न श्रम मन्त्रालय र सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था गरिने पनि मन्त्री भट्टराईले बताउनुभयो ।

नियमित उडानको संख्या बढाउँदा एयरलाइन्सहरुबिच प्रतिस्पर्धा बढ्न गई भाडादर घट्ने विश्वास समेत मन्त्री भट्टराईको छ ।

उहाँले अन्तर्राष्ट्रिय एयरलाइन्सका नीति नियमलाई समेत मान्नुपर्दा भाडादर नियन्त्रण गर्न नसकेको बताउनुभयो ।

सरकारले अन्तर्राष्ट्रिय निकायलाई पत्र पठाएर सचेत गराउँदा दुई देशबिचमा भएको हवाई सम्झौताको विवरण पठाएर नेपालले किन पत्र पठायो भन्ने आषयको प्रतिक्रिया आएको समेत बताउनुभयो ।

आइटा लगायतका अन्तर्राष्ट्रिय संस्थाहरुले समेत त्यसमा आपत्ति जनाएको मन्त्री भट्टराईको भनाई छ ।

उहाँले असोज १५ देखी आन्तरिक उडान पनी खोल्नका लागी सिसिएमसिमा प्रस्ताव पठाएको मन्त्री भट्टराईले जानकारी दिनुभयो ।

नेपालको स्वास्थ्य मापदण्ड अपनाएर आउने पर्यटकलाई नेपाल आउन नरोक्ने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।