
काठमाडौं, भदौं २५ । सत्याग्रही गंगामाया अधिकारीको जीवन जोखिममा परेको छ ।
वर्षौदेखि वीर अस्पतालको शैयाबाटै न्याय लागि सत्याग्रह गरिरहनु भएका अधिकारीको जीवन जोखिममा परेको हो ।
सरकारले वीर अस्पताललाई कोभिड उपचार केन्द्र बनाए पनि गंगामाया अधिकारीलाई त्यहाँबाट अन्यत्र नसारेकाका कारण उहाँको जीवन नै जोखिममा पर्ने खतरा परेको हो ।
साविकको वीर अस्पताललाई कोभिड उपचार केन्द्र बनाउने घोषणा गरेपछि सरकारले वीर अस्पतालबाट सर्वसाधारणले पाइरहेको सेवा ट्रमा सेन्टरबाट उपलब्ध गराउने जनाएको छ ।
त्यसैअनुरुप वीर अस्पतालमा उपचाररत विरामीलाई ट्रमा सेन्टरमा सारिएपनि गंगामायालाई भने अस्पताल प्रशासनले ट्रमामा सारेको छैन ।
उहाँलाई उपलब्ध गराउँदै आएको क्याबिनबाट हटाएर पुरानो भवनकै सबैभन्दा माथि सारिएको छ भने गंगामायालाई दिइँदै आएको नर्सिङ सेवा पनि रोकिएको उहाँले बताउनुभयो ।
उहाँको सुरक्षामा खटिँदै आएका सुरक्षाकर्मीलाई समेत हटाइएको छ । अस्पताल प्रशासनले अरु विरामीलाइ सारे पनि उहाँका बारेमा के गर्ने भन्ने निर्णय मन्त्रालयबाट आउनुपर्ने भन्दै जिम्मेवारी पन्छाएको छ ।
अधिकारकर्मी चरण प्रसाईंले अरु सबै विरामीलाई अन्यत्र सारेर गंगामायालाई लावारिस जस्तै वीर अस्पतालको माथिल्लो तलामा छाडिएको भन्दै उहाँ त्रासमा रहेको बताउनुभयो ।
रेखदेखका लागि डाक्टर नर्स कोही पनि नभएको भन्दै प्रसाईंले गंगामाया अधिकारीको रेखदेखको सम्पूर्ण जिम्मेवारी सरकारले लिएकाले केही भएका त्यसको सम्पूर्ण जिम्मेवारी सरकारको हुने टिप्पणी गर्नुभयो ।
२०६१ सालमा चितवनमा माओवादीले निर्ममतापूर्वक हत्या गरेको आफ्नो कान्छो छोरा कृष्णप्रसादको न्यायका लागि गंगामाया अधिकारी वर्षौदेखि सत्याग्रहमा हुनुहुन्छ ।
उहाँका पति नन्दप्रसाद अधिकारी छोराका हत्यारालाई कार्वाहीको माग गरेर अनशनमा बसेकै अवस्थामा ३३४ दिनका दिन ६ वर्षअघि २०७१ साल असोज ६ गते प्राण त्यागेका थिए ।

गोरखा फुजेलका सरकारी नियन्त्रणमै नन्दप्रसादको मृत्यु भएको ६ वर्षसम्म पनि अन्त्येष्टी हुन सकेको छैन । न्यायप्राप्त नहुँदासम्म जस्तोसुकै संघर्षबाट पनि विचलित नहुने अडानमा गंगामाया हुनुहुन्छ ।
यसबीचमा सबैजसो प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, हत्या आरोपी स्वयं माओवादी र हालको नेकपाको सरकारसम्मले पनि अधिकारी दम्पत्तिलाई न्याय दिएको छैन ।
सबैजसो सरकारले अधिकारीसँग दोषीलाई दण्डित गरी न्याय दिने आश्वासन पटक पटक दिए पनि अहिलेसम्म हत्यारालाई कार्वाही हुन सकेको छैन । पछिल्लो पटक न्यायाधीशसमेत मिलेर आफूलाई न्यायबाट बिमुख बनाइएको दुःखेसो गंगामायाले गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्