१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


सात वर्षीय प्रशान्तको मनै कोक्याउने यो रोदन, कसले लगाइदेला मल्हम


0
Shares

गृष्मा राजभण्डारी/नवीन स्थापित

काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनको भवन । जसलाई आम भाषामा बालमन्दिर पनि भनिन्छ । जहाँ देशका विभिन्न स्थानबाट ल्याइएका अनाथ बालबालिका राखिन्छन् ।

उनीहरुको आफ्नै पीडा छन् अनि अनन्त बेदना । कलिला मुना जसलाई न जीवनको, या जगतकै ज्ञान छ । म को हुँ ? यहाँ किन, कसरी ल्याइएको छु भन्नेमा पनि धेरै अनभिज्ञ । 

शरणमा छन् कि वात्सल्यमा ? त्यो पनि धेरैलाई थाहा छैन । असहाय र अनाथ भएपछि विभिन्न स्थानबाट त्यहाँ ल्याइपुर्याइएकाहरुलाई आफ्ना आमाबुबा र थातथलोको पत्तोसम्म छैन ।

तर त्यही बाल संगठनमा रहेका एक बालक भने अरुभन्दा पृथक छन् । जसलाई आफु कहाँ छु भन्ने थाहा छ, आफ्नो निकट विगतले त झन् भतभत् पोलिरहेको छ ।

बिर्सन खोजेर कसरी बिर्सिउन् । मन, मुटुमा जब त्यही सम्झना सुईरो बनेर रोपिन आउँछ र उनी झन् कोक्किन्छन् । कलिलो उमेर, कलिलो मन थामियोस् पो कसरी ? 

उनी हुन्, रोल्पा घर भएका सात वर्षीय प्रशान्त घर्ती मगर । जो नेपाल बालसंगठनको शरणमा छन् । अनि छ, गहभरी आँसु र मनभरी पीडा ।

दैवले ठगेका यिनलाई काठमाडौं बिरानो बनेको छ । बाल संगठन त शरणस्थल न हो । त्यो पनि उनले रोजेका हुन् र ? जबरजस्ती अरुले थोपरिदिएको ।

त्यसैले उनको मन यहाँ छँदै छैन । जहाँ मन अडिन्न, त्यहाँ कसरी बस्नु ? त्यसमाथि एकाएक आइलागेको बज्रपात, सहनु कसरी ?

रोल्पाको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्थे यी बालक । उनको आफ्नै संसार थियो ।

दुःखको सागर बोकेर पनि प्रशान्तलाई वात्सल्यको महासागर खन्याइदिने आमा थिइन् । गरीबी र पीडाका हण्डर सामना गर्दै खुशी दिने बाबु थिए । प्रशान्त त्यसमै रमेका थिए ।

तर दैव नै निष्ठूर बनिदिएपछि कस्को के लाग्छ र ? प्रशान्तमाथि पनि कलिलै उमेरमा ‘दैवको आँखा’ लागेछ क्यार !

एक दिन पढेर विद्यालयबाट फर्कदै थिए, घर पुग्न पाउँदा नपाउँदै आफुलाई संसारको खुशी घोप्ट्याइदिने आमा संगीता घर्तिमगर भीरबाट लडेर मृत्यु भएको खबर सुने ।

शुरुमा त मृत्युको कुरा उनले पत्याउनै सकेनन् । तर यथार्थ त्यही थियो । सत्य त्यही । अनि मातृ वियोगको विह्वलतामा उनी मर्माहत बनिरहे ।

सायद नियतिलाई यतिले मात्र पुगेको थिएन । आमालाई गुमाएको केही दिनमै उनका बाबु कर्माधन घर्तिमगरले पनि यो धर्ती छाडिदिए । पत्नी वियोगको आघात यति ठूलो पर्यो कि प्रशान्तको हाँसोका लागि पनि उनले बाँकी जीवनलाई डोहोर्याउन सकेनन् र आत्महत्या गरिदिए ।

प्रशान्तलाई आफ्ना बुबाले आत्महत्या गरेको भन्ने पनि पत्यार छैन उनी भन्छन्, ‘आमाको मृत्युको चिन्ताले बुबाले खाना खान छोडेपछी मृत्यु भएको हो ।’

अब त उनीसँग केही पनि बाँकी रहेन । अनाथ प्रशान्तलाई ठूलो बुबाले काठमाडौं ल्याए । प्रशान्त भन्छन्, ‘तर ठूलो बुबाको परिवारसँग बस्न पाइन । ठूलो बुबाकी छोरी प्रमीसाले नेपाल बाल संगठनको सहारामा छाडिदिइन् ।’

हुनत ठूलोबुबा र दिदीको आफुकहाँभन्दा बालमन्दिरमा रहँदा राम्रो शिक्षादीक्षा मिल्ला भन्ने सदासयता नै होला । तर सात वर्षे बालक न हुन् उनको मन कसरी मान्थ्यो र ?

आफु जन्मे बढेको रोल्पाको घरमा ताला लागेकामा साह्रै दुःखी प्रशान्त भन्छन्, ‘मलाई हेर्ने कोही नभएको कारण मलाई यता ल्याइयो’ । उनलाई त बाबुआमाले दुःख गरेर स्याहारेको रोल्पाको सम्पत्ति हिनामिना नहोस् भन्नेसम्म लागेको छ ।

आमा बुबा नभएपनि आफनै ठूलो बुबासँग बस्न मन लागेको भन्दै धरधरती आँशु झार्दै प्रशान्त भन्छन्, ‘रातभर निन्द्रा नै लाग्दैन आमा बुबाको याद आउँछ ।’

प्रशान्तको पीडाको सागर देखेपछि बालसंगठनका प्रमुख बालकृष्ण डंगोल पनि प्रशान्तलाई उनको ठूलो बुबाले सँगै राखेर पढाई दिए हुन्थ्यो भन्छन् ।

प्रशान्तको शिक्षादीक्षाका लागि छात्रवृत्ति, खाना खर्चसमेत बालसंगठनले ब्यहोर्ने प्रस्ताव ठूलो बुबासमक्ष गरेपनि आर्थिक अवस्था कमजोर रहेकाले नसक्ने जवाफ दिएको डंगोलले जानकारी दिए ।

बालमन्दिरमा छोडेदेखि घरबाट कसैले भेट्न नआएकामा दुःखी प्रशान्तलाई आउँदो दशैमा दिदीले लिन आए ठूलो बुबाको घर जान पाउने झिनो आशा अझै मरेको छैन ।