२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमसीसी परिमार्जन गरेर पारित गर्ने, चैतमा महाधिवेशन नेकपाको निर्णय


0
Shares

काठमाडौं, भदौ २६ । डेढ महिनापछि बसेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपाको एकता महाधिवेशन चैतमा गर्ने निर्णय गरेको छ ।

चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो ।

महाधिवेशनको तयारीका सम्बन्धमा छलफलका लागि २०७७ कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ ।

त्यस्तै अमेरिकी सहयोग सम्बन्धी कार्यक्रम (एमसीसी) लाई आवश्यकता अनुसार संशोधन र परिमार्जन गरेर पारित गर्ने निर्णय समेत स्थायी समिति बैठकले गरेको छ ।

के संशोधन र परिमार्जन गर्ने भन्ने विषयमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समितिको सुझावका आधारमा काम हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिका आधारमा गठित महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको समस्या समाधान कार्यदलको सुझावलाई थप गृहकार्य गरी ठोस कार्ययोजनाका रुपमा प्रस्ताव प्रस्तुत भइरहेको बताइएको छ ।

ओली भने आफ्ना कुराहरु राखेर २० मिनेटमै बैठकबाट बाहिरिनु भएको छ । बैठक संचालनको जिम्मा प्रचण्डलाई दिएर ओली बाहिरिनु भएको हो ।

पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो ।

गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष दाहालले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन् ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदल गठन गरिएको थियो ।