
काठमाडौं, भदौ २६ । प्रेस काउन्सिल नेपाल र नेपाल चिकित्सक संघबीचमा आपसी सहयोग र सहकार्य हुने भएको छ ।
यस सम्बन्धी १२ बुँदे सम्झौता पत्रमा काउन्सिलका तर्फबाट कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल र संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले शुक्रबार हस्ताक्षर गर्नुभयो ।
स्वास्थ्य लगायत विभिन्न विषयमा कलम चलाइरहेका सञ्चारकर्मीलाई विषय विज्ञबाट पाठ्यक्रमको प्रारुप तयार गरी तालिम तथा प्रशिक्षण ,दक्ष प्रशिक्षक उत्पादन, संस्थाको पेशागत मर्यादा, विश्वसनीयता, हकहित र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको जनाइएको छ ।
सो अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने उद्देश्यले आचारसंहिता उल्लंघनका उजुरीमा द्रुत विधिबाट कारवाहि हुँदै आएको जानकारी दिनुभयो ।
संघका अध्यक्ष डा. कार्कीले पत्रकारिता पेशालाई विश्वसनीय, मर्यादित, परिस्कृत बनाउन तत्कालको लागि योजना बनाएर छोटो तथा लामो अवधिको तालिम प्रदान गर्न दुई सस्थाका बीच सहकार्य भएको बताउनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्