
काठमाडौं, २८ । नेपाली कांग्रेसले सत्याग्रही गंगामाया अधिकारीको उचित ब्यवस्थापन तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
गंगामाया अधिकारीमाथि राज्यले अमानवीय व्यवहार गरिरहेको भन्दै कांग्रेसले उहाँको ब्यवस्थापन तत्काल गर्न माग गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत् गंगामायामाथि गरिएको अमानवीय चित्र सच्याउन प्रधानमन्त्री केपी ओलीको ध्यानकर्षण गराउनु भएको हो ।
शर्माले ट्वीटमा लेख्नुभएको छ, ‘वीरलाई कोभिड अस्पताल बनाएपछि वैकल्पिक ब्यवस्था गर्ने या त्यहाँबाट निक्लन दिने राज्यको कर्तव्य हो । तर ब्यवस्थापन नगर्ने र निक्लनपनि नदिने कार्य आपत्तिजनक छ । अमानवीय चित्र सच्याउन प्रमको ध्यानाकर्षण गराउँदछु ।’
वीर अस्पतालको शैयामा रहेर आफ्ना छोराका हत्यारालाई कार्वाही गर्न वर्षौदेखि माग गर्दै आउनु भएका अधिकारीको जीवन सरकारले वीर अस्पताललाई कोभिड उपचार केन्द्र बनाएपछि जोखिममा परेको हो ।
सरकारले वीर अस्पताललाई कोभिड उपचार केन्द्र बनाए पनि गंगामायालाई त्यहाँबाट अन्यत्र सारेको पनि छैन र बाहिरिन दिएको पनि छैन ।
साविकको वीर अस्पताललाई कोभिड उपचार केन्द्र बनाउने घोषणा गरेपछि सरकारले वीर अस्पतालबाट सर्वसाधारणले पाइरहेको सेवा ट्रमा सेन्टरबाट उपलब्ध गराउने जनाएको छ ।
यो पनि पढ्नुस्,
त्यसैअनुरुप वीर अस्पतालमा उपचाररत विरामीलाई ट्रमा सेन्टरमा सारिएपनि गंगामायालाई भने अस्पताल प्रशासनले ट्रमामा सारेको छैन । वीरमै रहँदा आफू जोखिममा परेको भन्दै अधिकारी आज माइतिघर मण्डलमा अनशन थाल्न निस्कन लाग्दा प्रशासनले रोकेको छ ।
अधिकारीको जीवन रक्षाको जिम्मा सरकारले लिएको भन्दै यसअघि शनिबार ३० नागरिक, न्यायका लागि मानवअधिकार सञ्जालगायतका संस्थाले उहाँको जीवन रक्षाको लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।
यो पनि पढ्नुस्,
२०६१ सालमा चितवनमा माओवादीले निर्ममतापूर्वक हत्या गरेको आफ्नो कान्छो छोरा कृष्णप्रसादको न्यायका लागि गंगामाया अधिकारी वर्षौदेखि सत्याग्रहमा हुनुहुन्छ ।
उहाँका पति नन्दप्रसाद अधिकारीले छोराका हत्यारालाई कार्वाहीको माग गरेर अनशनमा बसेकै अवस्थामा ३३४ दिनका दिन ६ वर्षअघि २०७१ साल असोज ६ गते प्राण त्यागेका थिए ।
गोरखा फुजेलका सरकारी नियन्त्रणमै नन्दप्रसादको मृत्यु भएको ६ वर्षसम्म पनि अन्त्येष्टी हुन सकेको छैन । न्यायप्राप्त नहुँदासम्म जस्तोसुकै संघर्षबाट पनि विचलित नहुने अडानमा गंगामाया हुनुहुन्छ ।
यसबीचमा सबैजसो प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, हत्या आरोपी स्वयं माओवादी र हालको नेकपाको सरकारसम्मले पनि अधिकारी दम्पत्तिलाई न्याय दिएको छैन ।
सबैजसो सरकारले अधिकारीसँग दोषीलाई दण्डित गरी न्याय दिने आश्वासन पटक पटक दिए पनि अहिलेसम्म हत्यारालाई कार्वाही हुन सकेको छैन । पछिल्लो पटक न्यायाधीशसमेत मिलेर आफूलाई न्यायबाट बिमुख बनाइएको दुःखेसो गंगामायाले गर्दै आउनुभएको छ ।
तीन वर्षअघि लिइएको गंगामाया अधिकारी यो अन्तरवार्ता हेर्नुस्,
प्रतिक्रिया दिनुहोस्