
सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ को घुम्थाङमा रहेको नागपूजे र भीरखर्कमा गएको पहिरोमा पुरिएका ९ जनाको शव भेटिएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपालेका अनुसार पहिरोमा ज्यान गुमाउनेहरुमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, आठ वर्षीय सन्देश बिक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ छन् ।
पहिरोमा अझै २२ जना बेपत्ता छन् । उनीहरूको सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।
बेपत्तामध्ये पाँच जनाको जीवितै उद्धार गरिएको छ ।
पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।
भीरखर्कबाट खसेको पहिरोमा परी दुई गाउँमा क्षति पुगेको थियो ।
पहिरोले १२ वटा घर बगाएको छ ।
वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरिएको छ ।
हालसम्म सुरक्षित मानिएको उक्त स्थानमा पहिरो गएको हो ।
उक्त स्थानमा भिरकोटबाट करिब १ किलोमिटर लामो पहिरो गइ भोटेकोसी नदीसम्म पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्