२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


कोभिडका विरामीले प्राथमिकता पाउदा अन्य रोगका विरामीको उपचारमा समस्या


0
Shares

काठमाडौं, भदौ २८ । सरकारी अस्पतालहरु कोभिड अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका विरामीहरुको उपचारमा समस्या देखिएको छ ।

सरकारी अस्पतालहरुमा कोभिडका विरामी र अन्य रोगका विरामीहरुको समेत चाप बढ्दै गएको छ ।

तर कोभिडका विरामीहरुको उपचारले प्राथमिकता पाएपछि अन्य रोगका विरामीहरुको उपचारमा भने समस्या भएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको उपसमितिले आइतबार त्रिवि शिक्षण अस्पतालमा गरेको अनुगमनले अन्य रोगका विरामीहरु उपचार सेवाबाट बञ्चित भएको पाइएको हो ।

अस्पतालमा कोरोनाका लक्षण भएका विरामीहरुको संख्या बढी भएको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले बताउनुभयो ।

उहाँले जनशक्तिको अभाव र व्यवस्थापकीय प्रवन्धका कारण अन्य रोगका विरामीहरुको उपचारमा समस्या भएको बताउनुभयो ।

लक्षणसहितका विरामी बढी हुँदा अक्सिजन, भेन्टिलेटर लगायतका अन्य सपोर्टहरु बढी चाहिने गरेको उहाँको भनाई छ ।

अनुगमन पछि उपसमिति संयोजक जीवनराम श्रेष्ठले कोभिडका कारण अन्य रोगका विरामीहरुको उपचारमा समस्या भएको जानकारी आफुहरुले पाएको बताउनुभयो ।

कोभिड संक्रमित र अन्य विरामीहरुको एउटै अस्पतालमा उपचार गराउँदा जोखिम अझ बढी हुनेभएकाले उचित व्यवस्थापनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

शिक्षण अस्पतालमा अन्य रोगका विरामीहरुको संख्या न्यून हुँदा मेडिकल शिक्षाका विभिन्न विधा पढ्दै गरेका विद्यार्थीहरुको पढाइमा समेत समस्या देखिएको छ ।