१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विदेशमा अलपत्र नेपालीलाई महिना दिनभित्र नेपाल ल्याउन समितिको निर्देशन


0
Shares

काठमाडौं, भदौ २८ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई उद्दार गरी एक महिनाभित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले वैदेशिक विभिन्न मुलुकमा रोजगारी गुमाई अलपत्र भएका नेपालीलाई एक महिनाभित्र ल्याइसक्न श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति बिमलप्रसाद श्रीवास्तवले विदेशमा अलपत्र नेपालीलाई ल्याउने सम्बन्धमा प्रभावकारी कदम चाल्न नसकेको भन्दैै समितिको गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

उहाँले उद्दार कार्यमा आवश्यक उडान व्यवस्थापन गर्न एयरलाइन्ससँग समन्वय गरी कार्य सम्पादन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पनि निर्देशन दिनुभयो ।

समितिले विदेशमा भोकभोकै रहने अवस्थामा पुगेका नेपाली नागरिकलाई तत्काल स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्य सम्पादन गर्न समेत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

विदेशबाट नेपाली श्रमिक ल्याउँदा नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सलाई साउदी अरेबिया लगायतका मुलुकमा केन्द्रित गर्न र अन्य देशमा भने जुन एयरलाइन्सबाट छिटो हुन्छ त्यस्ता एयरलाइन्सलाई प्राथमिकता दिन पनि समितिले निर्देशन दिएको छ ।