१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा-बागलुङ सडकखण्ड अवरुद्ध


0
Shares

पर्वत, भदौ २९ । शनिबार रातिदेखि परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको छ ।

सडक खण्डको कुश्मा नगरपालिका–८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका–४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका–१ अन्तर्गत पर्ने सहस्रधारामा अवरुद्ध भएको हो ।

आइतबार पनि पहिरोले अवरुद्ध सडक साँझ मात्रै एकतर्फी रुपमा सञ्चालन भएको थियो ।

सोमबार सहस्रधारामा सडकमाथिबाट भेलसहितको पहिरो आएपछि सडकको ५० मिटरभन्दा बढी भाग पुरेको छ ।

यातायात अवरुद्ध भएपछि सोमबार बिहानैदेखि सवारी र यात्रु सडकमा नै अलपत्र परेका छन् ।

पहिरो खसिरहेका कारण सर्वसाधारण हिँडेरसमेत वारपार गर्न पाएका छैनन् ।

सडक सञ्चालनका लागि निर्माणाधीन मध्यपहाडी लोकमार्ग आयोजनामा रहेका उपकरण प्रयोग गर्ने तयारी गरे पनि पहिरो खसिरहेकाले तत्काल काम शुरु गर्न नसकिएको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले बताउनुभयो ।

चुवा, दोविल्लालगायतका स्थानमा भने सडक खुलाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएका कारण सडकमा सवारीको चाप नभए पनि खाद्यान्न ढुवानीसँगै बिरामी र एम्बुलेन्सलाई समस्या भएको छ । रासस