
ओखलढुङ्गा, भदौ २९ । कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिनुभएको छ ।
कोरोना सङ्क्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बस्नुभएकी एक महिलाले बच्चा जन्माउनुभएको हो ।
कोरोेना सङ्क्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पताका निर्देशक युवराज आचार्यले बताउनुभयो ।
आमालाई आइतबार सङ्क्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको उहाँको भनाइ छ ।
“कोरोना सङ्क्रमण देखिएकी महिलाबाट शिशुको जन्मभएको छ”, उहाँले भन्नुभयो, “सामान्य प्रक्रियाबाटै बच्चा जन्मियो, अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।”
शल्यक्रिया गर्न नपर्दा थप जोखिम नभएको उहाँको भनाइ छ ।
अस्पतालले सङ्क्रमित सुत्केरीको नाम भने सार्वजनिक गरेको छैन ।
अस्पतालले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित गर्भवतीलाई प्रसूति सेवा दिन आइसोलेसन डेलिभरी रुम सञ्चालनमा ल्याएको छ ।
सङ्क्रमित महिलाको डेलिभरीका लागि आइसोलेसन डेलिभरी रुम र शल्यक्रिया थिएटर सञ्चालनमा ल्याइएकाले सङ्क्रमितलाई सेवा दिन सजिलो भएको अस्पतालले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्