
काठमाडौं, भदौं २९ । सरकारले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई राष्ट्रिपतिबाट मनोनयन गर्ने कोटामा राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो ।
यसअघि सत्तारुढ नेकपाले राष्ट्रिय सभाको रिक्त एक सीटमा गौतमलाई मनोनित गर्न सरकारसमक्ष सिफारिश गरेको थियो ।
२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा गौतम वर्दियाबाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित हुनुभएको थियो ।
गौतमलाई राष्ट्रिय सभामा लैजाने/नलैजानेबारेमा नेकपाभित्र निकै लामो रस्साकस्सी भएको थियो । गौतमले प्रतिनिधि सभाकै सदस्य हुनका लागि पनि अनेकन उपाय खोज्नु भएको थियो ।
कतैबाट नमिले पछि उहाँ जसरी पनि सांसद बन्नका लाग अन्ततः राष्ट्रपतिले मनोनयन गर्ने कोटामा राष्ट्रिय सभा पुग्न सफल हुनुभएको हो ।
प्रधानमन्त्री केपी ओली गौतमको साटो पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजान चाहनुहुन्थ्यो । तर पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता गौतमका पक्षमा उभिएकाले यो निर्णय भएको हो ।
यसैगरी सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई दिइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्