१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बीमा समितिद्धारा मापदण्ड संशोधन, कोरोना पुष्टि भए २५ प्रतिशत र बाँकी अस्पतालको बिल अनुसार


0
Shares

काठमाडौं, भदौ ३० । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ ।

बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि भए बीमाङ्कको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी संसोधन गरिएको समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले जानकारी दिनुभएको छ ।

कोरोना बीमा गरेको बीमितले पीसीआर गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको अवस्थामा बिमाङ्क रकमको २५ प्रतिशत भुक्तानी दिने व्यवस्था गरिएको बताउनुभयो ।

त्यसबाहेक अस्पतालमा बस्नु परेको खण्डमा भने राहत रकम सहित बिल भर्पाईको आधारमा थप ७५ प्रतिशत सम्म भुक्तानी दिइने अध्यक्ष चापागाईंले बताउनुभयो ।

यस्तै समितिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति दिएका प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भए बिमाङ्क रकम भुक्तानी गर्ने व्यवस्था गरिएको पनि अध्यक्ष चापागाईंले बताउनुभयो ।

उहाँले पछिल्लो समय संक्रमण पुष्टि हुनेहरुको संख्या पनि बढ्दै गएको र विभिन्न विज्ञहरुको सुझावका आधारमा बीमा मापदण्ड संशोधन गरी समयसापेक्ष बनाइएको स्पस्ट पार्नुभयो ।

संशोधित व्यवस्था अनुसार बीमितले एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए राहत स्वरुप २५ हजार रुपैयाँ पाउने छ ।

तर अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भपाई पेश गरेको खण्डमा थप ७५ हजार रुपैयाँ सम्म भुक्तानी हुने छ ।

यस्तै अन्य पोलिसि खरिद गरेको अवस्थामा पनि सोहि व्यवस्था लागु हुने समितिले जनाएको छ ।