१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नारायणगढ-मुग्लिन सडकखण्डमा पाँच वर्ष यताकै धेरै पहिरो


0
Shares

चितवन, भदौ ३० । नारायणगढ-मुग्लिन सडक खण्डमा पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ ।

सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राती साना ठूला गरी ४८ वटा पहिरो खसेका हुन् ।

डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर शिव खनालका अनुसार २०७२ साल यता यति धेरै पहिरो एकै पटक खसेको थिएन ।

खसेका पहिरोमध्ये ७० प्रतिशतभन्दा बढी नयाँ ठाउँमा खसेका छन् ।

सो सडकको जुगेडीदेखि दासढुङ्गासम्म अहिलेसम्म पहिरो नखसेका ठाउँमा पनि यस पटक पहिरो खसेको थियो ।

विगत एक सातादेखि निरन्तर परेको वर्षापछि सोमबार बेलुका परेको अविरल वर्षाले पहिरो खसेको खनालको भनाइ थियो ।

पानीले गलेको जमिन ठूलो वर्षासँगै लेदोसहितको पहिरो खसेको थियो ।

सो सडकबाट माथितर्फ पहाडी गाउँतर्फ जाने साना साना सडक अवैज्ञानिक तरिकाले निर्माण गर्दा पनि पहिरोको जोखिम बढेको खनालले बताउनुभयो ।

सडक सफा गर्न मंगलबार बिहानदेखि ११ वटा जेसिबी र ५ वटा लोडर प्रयोग गरिएको थियो । सफा गरेर दिउँसो २ः४५ बजे सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ ।

सडक खण्डको चारकिलो, घुमाउने, भालुढुङ्गा, सत्र किलो र पाँचकिलोमा ठूलो पहिरो खसेका थिए ।

अन्य ठाउँमा साना पहिरो खसेका थिए । घुमाउनेमा पहिले खसेको ठाउँमा थप पहिरो खसेको हो ।

चार किलोमा नयाँ ठाउँमा ठूलो पहिरो खसेको छ । पाँच किलोमा लेदोले सडक भरिएर घरमा समेत क्षति पुगेको थियो ।

सडकमै रहेका गाडीको टायरसम्म लेदो भरिएको थियो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले धेरै ठाउँमा पहिरो खसेको भएपनि सडकका कर्मचारी र प्रहरीको सहयोगमा छोटो समयमा सडक सफा गर्न सकिएको बताउनुभयो ।

एकाएक पहिरो खसेपछि रातीदेखि नै सडक अवरुद्ध बनेको थियो । सो सडक दुई वर्ष अघि विस्तार सम्पन्न भएको हो ।

यो सडक राजधानी काठमाण्डौं, पोखरा लगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग हो ।

यहाँ दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन् । रासस