१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई


0
Shares

काठमाडौं, भदौ ३० । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रिस्तरीय निर्णय गरी कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको हो ।

यही भदौ २९ गते चारवर्षे कार्यकाल पूरा गरी मंगलबार बिदाइसमेत हुनुभएका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत कोइरालालाई नै यसअघि पटकपटक निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिँदै आउनुभएको थियो ।

प्राधिकरणमा कार्यरत उपकार्यकारी निर्देशकमध्ये कोइराला सबैभन्दा वरिष्ठ हुनुहुन्छ ।

वरिष्ठतालाई समेत ख्याल गरेर आज मन्त्रिस्तरीय निर्णयबाट उपकार्यकारी निर्देशक कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

अर्को व्यवस्था नहुन्जेलका लागि कोइरालालाई प्राधिकरणको दैनिक कामकाज सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो ।

मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्छ । रासस