
एजेन्सी, भदौ ३१ । इजरायल, संयुक्त अरब इमिरेट्स र बहराइनले ती देशबीचको सम्बन्ध हार्दिक बनाइराख्ने सम्झौता गरेका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा ती देशबीचको सम्बन्ध सामान्य बनाउन उनीहरुले एक सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
तीन देशबीचको सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नयाँ मध्यपूर्वको शुरूवात’ को संज्ञा दिनुभएको थियो ।
राष्ट्रपति ट्रम्पसमेत उपस्थित रहेको उक्त कार्यक्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग यूएई र बहराइनका विदेशमन्त्रीहरु संलग्न हुनुहुन्थ्यो ।
ट्रम्पले भन्नुभएको छ, ‘दशकौंको विभाजन र संघर्षपछि आज हामीले एउटा नयाँ मध्यपूर्वको शुरूवात गरेका छौं । इजरायल, संयुक्त अरब इमिरेट्स र बहराइनका बासिन्दालाई बधाई । ईश्वरले तपाईंहरू सबैको भलो गरून् !’
ती देशहरुमा एकार्काको दूतवास स्थापना गरिने जानकारी दिँदै ट्रम्पले भन्नुभएको छ, ‘यो क्षणमा हामी यहाँ इतिहास बदल्न आएका छौं । इजरायल, युएई र बहराइनले एकार्कोमा दूतावास बनाउनेछन्, राजदूत नियूक्त गर्नेछन् र सहयोगी देशका रूपमा काम गर्नेछन् । अब उनीहरू मित्र हुन् ।’
सम्झौताप्रति आपत्ति प्रकट गर्दै प्यालेस्टाइनी नेता महमूद अब्बासले इजरायलसँगको विवाद हल नभएसम्म अरब देशहरूले पर्खनुपर्ने भन्दै कब्जा गरेका जमीन इजरायलले छाड्नुपर्ने टिप्पणी गर्नुभएको छ ।
गत जनवरीमा अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्व शान्ति योजना पेश गर्नुभएको छ । यो सम्झौतापछि इजरायलले युएई र बहराइनबाट पनि राष्ट्रको मान्यता पाएको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनको मुखमा यो सम्झौता गराएकामा ट्रम्पले राजनीतिक लाभ उठाउन सक्ने बताइएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इतिहासले कोल्टे फेरेको भन्दै यसले शान्तिको नयाँ बिहानी ल्याउने आशा गर्नुभयएको छ ।
प्रतिक्रिया दिनुहोस्