१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


विषाक्त स्यानिटाइजर उत्पादन गर्ने चार कम्पनी कारवाहीमा


0
Shares

काठमाडौं, भदौ ३१ । औषधि व्यवस्था विभागले दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएको जनाएको छ ।

चीन, भारत, काठमाडौँ र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेको पाइएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार चिनियाँ कम्पनी ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एमएलको स्यानिटाइजर, भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एमएलको ह्यान्ड स्यानिटाइजर, ललितपुरमा रहेको सम्पदा हेल्थकेयरले उत्पादन गरेको सासा इस्ट्यान्टको ५० एमएलको ह्यान्ड स्यानिटाइजर र श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्रीले काठमाडौँमा उत्पादन गरेको ६५ एमएलको स्यानिटाइजर मापदण्ड विपरित पाइएको हो ।

बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डविपरीत विषाक्त रसायन समावेश रहेको पाइएको विभागले जनाएको छ ।

चार कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ ।

यसअघि विभागले काठमाडौँ र चितवनमा सञ्चालित पाँच स्यानिटाइजर कम्पनीको उत्पादन बन्द गर्न निर्देशन दिएको थियो ।